धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा क्यान्सरको बिशेषज्ञ सेवा शुरु भएको छ ।

मेडिकल अंकोलोजीमा डिएम गरेकी डा.सोनिया दुलाल प्रतिष्ठानमा आएपछि क्यान्सरका विरामीहरुले बिशेषज्ञ सेवा पाउन थालेका हुन् । डा.दुलाल साउन १ बाट प्रतिष्ठानमा सेवा थालेकी हुन् । डि.एम. गरेपछि उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 'बण्ड'मार्फत प्रतिष्ठानमा पठाएको हो । प्रतिष्ठानको मेडिसिन विभागअन्र्तगत रहेर डा.दुलालले सेवा शुरु गरेपछि पुर्वक्षेत्रका क्यान्सरका विरामीहरुले राहत पाएका छन् । अहिले विगतमा जस्तो प्रतिष्ठानबाट क्यान्सरका विरामीहरु रिफर हुन छोडेको छ ।

कोरोना कहरकै बीचमा डा.दुलाल र उनको टिमले प्रतिष्ठानमा एक सय भन्दा बढीको किमोथेरापी गरिसकेको छ । ‘हिजो सोमबारसम्मको तथ्यांक हेर्दा १०१ जनाको किमोथेरापी भएको छ, आज पनि थप केही संख्यामा भइसकेको छ,’डा.दुलालले भनिन् । डा. दुलालले वीर हस्पिटल, न्याम्सबाट मेडिकल अंकोलोजीमा डिएम गरेकी हुन् । मेडिकल अंकोलोजीमा डिएम गर्ने उनी दोस्रो ब्याच हो । डिएमको पढाई सकेपछि मन्त्रालयले २ बर्षको लागि सेवा गर्न उपत्यका बाहिर पठाउने गर्छ । कोभिडको कारणले धेरै क्यान्सरका विरामीहरु काठमाण्डौं जान सकेका थिएनन् । त्यसैले डा.दुलालले वीपी प्रतिष्ठानलाई छानिन् । ‘कोभिडको कारण क्यान्सरका विरामीहरुलाई काठमाण्डौं जान मर्का पर्यो । त्यसैले म आफैले वीपीलाई छाने । विपीलाई पनि आवश्यकता थियो,’उनले भनिन् । डा.दुलालका अनुसार पुर्वमा क्यान्सरका विरामी धेरै छन् । तर, अहिले सिमित स्रोत, साधान भएकोले हरेक दिन ४ देखि ८ जनालाई मात्र राख्ने गरेको उनले बताइन् ।

'राम्रो सपोर्ट भइरहेको छ'

डा. दुलालले वीपी प्रतिष्ठानमा सेवा दिन थालेको ३ महिना बितिसकेको छ । यो बीचमा सय भन्दा बढी क्यान्सर विरामीहरुलाई किमोथेरापी भइसकेको छ । उनी एक्लैबाट यो सम्भव हुने कुरा थिएन । उनलाई सहयोगी टिमको खाँचो थियो । यसमा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र इन्टरनल मेडिसिन विभाग प्रमुख प्रा.डा.सञ्जिव शर्माबाट राम्रो साथ, सहयोग पाइराखेको डा. दुलालले बताइन् । ‘उपकुलपतिबाट एकदम्रै राम्रो सपोर्ट भइरहेको छ, विभागीय प्रमुखबाट पनि लजेष्टिक, टिमको लागि सहयोग भइरहेको छ,’डा.दुलालले भनिन्,‘किमोथेरापी गर्न नर्स चाहिन्छ, रेसिडेन्ट चाहिन्छ, विभागबाट उपलब्ध भइरहेको छ ।’

वीपीमै रहेर मेडिकल अंकोलोजी स्थापित गर्ने लक्ष्य

soniya-dulal

डा.दुलाल बण्ड अवधिमा मात्र होइन, भविष्यमा पनि वीपी प्रतिष्ठानमा नै रहेर अंकोलोजी सेवालाई स्थापित गर्न चाहन्छिन् । उनी भन्छिन्,‘पुर्वमा अंकोलोजीलाई स्थापित गरौं भन्ने मेरो लक्ष्य छ । म बण्ड अवधि पछि पनि यही रहेर काम गर्न चाहन्छुँ ।’ वीपी प्रतिष्ठानमा अंकोलोजी सेन्टरको भवन निर्माणाधिन अवस्थामा छ ।

भविष्यमा डा.दुलाललाई यही अवसर मिल्नेछ भने पुर्वका क्यान्सर पीडितहरुले अझ धेरै सेवा पाउनेछन् । त्यो पुर्वाधार पुरा नभएसम्म उनलाई स्रोत साधन र जनशक्तिको आवश्यकता पर्छ । मेडिकल अंकोलोजीको अलग्गै विभाग, वार्ड र डेडिकेटेड जनशक्ति पनि चाहिन्छ । ‘मेकिडल अंकोलोजीको सेटअप गर्दैछौं, जनशक्ति पनि डेडिकेटेड भयो भने धेरै सहज हुन्छ,’डा.दुलाल भन्छिन् ।

पुर्व क्षेत्र एवं प्रदेश नं १ मा मेकिडल अंकोलोजीमा डिएम गरेका बिशेषज्ञ चिकित्सक अर्थात मेडिकल अंकोलोजिष्ट छैनन् । केही अस्पतालमा रेडिएसन अंकोलोजिष्ट मात्र छन् । रेडिएसन अंकोलोजिष्टहरुले रेडियो थेरापी गर्ने हुन् । एमबिबिएस सकेपछि सिधै रेडिएसन अंकोलोजी पढ्न सकिन्छ ।
मेडिकल अंकलोजिष्ट हुनलाई भने एमबिबिएस सकेपछि ३ बर्ष एमडि पढ्नुपर्छ । त्यसपछि मात्र मेडिकल अंकोलोजी पढ्न पाइन्छ । मेडिकल अंकोलोजिष्टले विरामीलाई रेडियो थेरापी गर्ने हो कि, किमोथेरापी गर्ने हो वा सर्जरी गर्ने हो ? यसबारेमा आवश्यक जाँच तथा टिमसँग सल्लाह गरेर निर्णय लिने काम गर्छन् ।

विभागले सक्दो सहयोग गर्नेछ: विभागीय प्रमुख

प्रतिष्ठानका विभागीय प्रमुख प्रा.डा.सञ्जिव शर्माले पुर्वक्षेत्रका क्यान्सर विरामीहरुलाई धेरै राहत पाइराखेको बताए । साथै उनले विभागले जतिसक्दो सहयोग गर्ने र गरिरहेको पनि बताए । ‘पुर्व क्षेत्रमा यो सेवा जरुरी थियो । डिएम अंकोलोजी बिशेष विधा हो, अहिले विरामीहरुलाई धेरै राहत मिलेको छ,’डा.शर्माले भने,‘प्रतिष्ठानले अंकोलोजी सेवालाई माथि लैजाने चुनौती र अवसर पनि छ ।’

डा.दुलालको प्रतिष्ठानमा नै रहेर सेवा दिने चाहाना भएकोले सबैले उचित वातावरण तयार गर्नुपर्ने विभागीय प्रमुख डा.शर्माले बताए । ‘उहाँ पछिसम्म वीपीमा नै रहेर काम गर्न चाहनुहुन्छ, हामी सबैले साथ दिएर त्यो वातावरण बनाउनुपर्छ,’विभागीय प्रमुख डा.शर्माले भने ।