काठमाण्डौं: सत्तारुढ दल नेकपाको सचिवालय बैठक १० दिनपछि बस्ने गरि सकिएको छ ।

आज दिउँसो १ बजे बालुवाटारमा बसेको बैठक १० दिन पछि फेरि बस्ने गरि सकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले पनि आफु प्रस्ताव पेश गर्ने र त्यसको लागि १० दिन समय माग गरेका थिए । सोही माग अनुसार मंसिर १३ गते बैठक बस्ने तय भएको हो । उक्त बैठकमा यसअघि अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनैतिक प्रस्ताव र प्रधानमन्त्री ओलीले प्रस्तुत गर्ने प्रस्तावलाई पनि छलफल गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले मंसिर १८ गते स्थायी कमिटी र २५ गतेदेखि केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको छ ।

अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीबीच तीब्र विवाद तथा मतभेद भइरहेको बेला अन्योलकाबीच बैठक बसेको थियो । प्रधानमन्त्री ओलीले आजको बैठक सार्न प्रयास गरेका थिए । सचिवालय बैठककै समयमा मन्त्रीपरिषद बैठक डाँकेपछि के होला भन्ने अन्योल थियो । भारतीय खुफिया एजेन्सी रअका प्रमुखको रहस्मय नेपाल यात्रा र प्रधानमन्त्रीसँगको गोप्य भेटपछि चर्किएको विवाद गएको २८ गते सचिवालय बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गरेपछि चरमोत्कर्षमा पुगेको थियो । प्रतिवेदनमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई सही दिशा दिन नसकेको आरोप लगाउदै मार्गप्रशस्त गर्नुपर्ने उल्लेख गरेका छन् । उक्त प्रतिवेदनप्रति प्रधानमन्त्री ओली र उनका पक्षधर नेताहरुले तीब्र विरोध जनाउदै फिर्ता लिन आग्रह गरिरहेका छन् ।