विराटनगर: प्रहरीले विराटनगरबाट भारततर्फ अवैधरुपमा डिजेल भन्सार छलेर तस्करी गरिरहेको अवस्थामा ३ जनालाई पक्राउ गरेको छ ।
आज बिहान ८ बजे विराटनगर महानगरपालिका ११ स्थित केशलिया नगर छेउबाट डिजेलसहित ३ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरका अनुसार पक्राउ पर्नेमा सुनसरीका हरिनगरा ६ का २५ बर्षीय सत्रुधन साह, ३० बर्षीय नजाम खान र ५० बर्षीय अकवाल मियाँ पक्राउ परेका छन् । उनीहरुको साथबाट ४३० लिटर डिजेल पनि वरामद भएको छ ।
प्रहरीका अनुसार उनीहरुले को ३२ प १०६१, को २४ प ८३०५ र को १६ प २२५६ नम्बरको ३ वटा मोटरसाइकलमा नेपालबाट भारततर्फ अवैधरुपमा डिजेल भन्सार छलेर लैजादै गरेको अवस्थामा पक्राउ परेका हुन् । उनीहरुले प्लाष्टिकको गिलेनमा राखेर डिजेल भारततफै लैजादै गरेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरंगबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो । वरामद भएको डिजेल अन्दाजी ३४ हजार ४ सय बराबरको भएको प्रहरीको अनुमान छ । नियन्त्रणमा लिएका तीनै जनालाई डिजेलसहित मुल भन्सार कार्यालय रानी विराटनगरमा प्रहरीले बुझाएको जनाएको छ ।