धरान: विरामी भएर उपचारको लागि अस्पतालमा भर्ना भएका लोक गायक सुरेश गन्धर्वलाई आर्थिक सहयोग जुट्न थालेको छ ।

आर्थिक संकट व्यहोरिरहेका गायक गन्धर्वलाई रंगकर्मी, राजनीतिकर्मीहरुको पहलमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । उनको ट्रपिकल वार्डमा राखेर हाल उपचार भइरहेको छ । आज उनी उपचाररत वार्डमा नै पुगेर केही व्यक्तिहरुले गायक गन्धर्वलाई आर्थिक सहयोग गरेका छन् । धरानका युवा दिपक घिसिङको पहलमा संकलन भएको ५ हजार युवा नेता हर्कजङ एभेङसहित अस्पताल पुगेर गायकलाई हस्तान्तरण गरेका थिए । घिसिङका अनुसार टिकाराम विसुंखे, सोनम राई, हर्कजंग एभेङ, समुन धामी र लालकुमार राई(छिन्ताङ्गे)बाट उक्त रकम संकलन भएको थियो ।

यस्तै, प्रबोध साप्ताहिकको तर्फबाट पनि ३ हजार ३ सय ७५ रुपैया गायक गन्धर्वलाई सहयोग गरिएको छ । पत्रिकाका सम्पादक लम्जेल संघर्षशील, उपसम्पादकद्धय निमा पोङ्सुवा र नविन रम्तेल अस्पताल पुगेर नगद हस्तान्तरण गरेका थिए । लोकगायक गन्धर्वलाई अस्पतालमा भर्ना तथा उपचारको लागि पहल गरिरहेका रंगकर्मी विष्णु मोक्तानका अनुसार गायकलाई सहयोग आउने रकमहरु सबै बैंक खातामा जम्मा गर्ने परिवारसँग समझदारी भएको छ । सोही अनुसार भोली(बिहिबार) बैंक खाता खोलेर सार्वजनिक गरिने पनि उनले बताए । ‘दुई जनाको नाममा खाता खोल्ने र जे जति सहयोग जुट्छ सबै बैंकमा जम्मा गर्ने सहमति भएको छ,’मोक्तानले भने,‘बैंक खाता नम्बर भोली हामीले पाएपछि सार्वजनिक गर्नेछौं ।’