धरान: विरामी भएर अस्पतालमा भर्ना भएका लोक गायक सुरेश गन्धर्वलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पनि भेटेका छन् ।

आज बिहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर गायक गन्धर्वलाई भेटे गरेका हुन् । मेयर राईले गायकको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए भने आवश्यक सहयोग गर्ने पनि प्रतिवद्धता जनाएका थिए । गायक गन्धर्व तीन दिनदेखि वीपी प्रतिष्ठानको ट्रापिकल वार्डमा उपचाररत छन् । उनलाई मुटूरोग, सुगर, प्रेसरलगायत स्वास्थ्य समस्या रहेको छ । उनलाई रंगकर्मी विष्णु मोक्तान, नेकपा नेता चोत्लुङलगायतको पहलमा उपचारको लागि अस्पताल भर्ना गरिएको हो । यसअघि उपप्रमुख मञ्जु भण्डारी सुवेदीले पनि अस्पतालमा भेट गर्दै सहयोगको प्रतिवद्धता जनाएकी थिइन् ।

मेयर तिलक राईले मेयर राईले लोकगायक गन्धर्वलाई उपचारमा सक्दो सहयोग गर्न अस्पताल निर्देशकसँग कुरा गरिसकेको बताए । साथै उनले उपमहानगरपालिकामा पनि सल्लाह गरेर थप सहयोग गर्ने बताए । ‘उहाँ अहिले विरामी हुनुहुन्छ, तत्काल राम्रो उपचार गराउनुपर्छ । यसको लागि वीपीको निर्देशक कार्यालयलाई भनेका छौं,’मेयर राईले क्लिकधरानसँग कुरा गर्दै भने,‘थप के सहयोग गर्न सकिन्छ, सल्लाह गरेर नगरपालिकाबाट सहयोग गछौं ।’

गायक गन्धर्वले गाएको रिन्केबुङको राँगोलाई..चुङ्केबुङको चुलेसीले...बोलको गीत चर्चित रहेको छ । गीत चर्चित भएपनि गायक गन्धर्वको अवस्था भने सधै दयनीय नै रह्यो । उनी लामो समयदेखि धरानमा डेरामा नै बस्दै आएका छन् । सारङ्गी रेटेर गाउदै जिविका चलाइरहेका गायक गन्धर्वलाई पछिल्लो समय स्वास्थ्यले पनि साथ नदिएपछि गुजारा चलाउन पनि हम्मे परिरहेको छ । उनले गाएको गीत रिन्केबुङको राँगोलाई..अहिले रिमेक भर्सनमा आएको छ । रमेश प्रसाईको स्वरमा म्युजिक भिडियोसहित रिमेक गीत सार्वजनिक भएपछि यो गीतले पुनः चर्चा कमाएको छ ।