धरान: मंगलबारदेखि जारी कक्षा १२ को परीक्षा धरानमा पनि भइरहेको छ । आज धरान उपमहानगरपालिकाका मेयर र उपमेयर विभिन्न परीक्षा केन्द्रमा पुगेर परीक्षाको अनुगमन गरेका छन् ।

परीक्षा अनुगमन गर्न मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसँगै शिक्षा शाखा अधिकृत रामचन्द्र कार्की, प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनाल पनि सहभागी थिए । उक्ट टोलीले पब्लिक उच्च मावि, यु.एन.कलेज र नवोदय माविमा पुगेर अनुगमन गरेका थिए । गत बैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा कोभिड १९ महामारी र लकडाउनको कारण स्थगित भएको थियो । उक्त परीक्षालाई सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै मंगलबारदेखि पुनः सञ्चालन गरेको हो ।

exam 1

मेयर राईले परीक्षा सन्तोषजनक र व्यवस्थितरुपमा सञ्चालन भइरहेको पाएको प्रतिक्रिया दिए । उनका अनुसार विद्यालयमा परीक्षार्थी र शिक्षकले पनि स्वास्थ्य मापदण्डको पालना गरेको अनुगमनको क्रममा देखिएको थियो । निजी विद्यालयहरुमा स्वास्थ्यकर्मी राखिएको भेटिएको भन्दै मेयर राईले सामुदायिक विद्यालयमा पनि आवश्यक रहेको औल्याए । साथै उनले स्वास्थ्य प्रोटोकल पालना गरेर विद्यालयहरु खुलाउने तयारी भईरहेको पनि बताए । उपमेयर भण्डारीले पनि परीक्षा मर्यादितरुपमा नै सञ्चालन भएको बताइन् ।