धरान: नेपालमा चलेको दश बर्षे द्वन्दले कति असर पर्यो भन्ने अनुमान लगाउन त्यति सहज छैन, जति तत्कालिन समयमा ग्रामिण क्षेत्रका मानिसहरुले प्रत्यक्ष भोगेका थिए । तत्कालिन बिद्रोही र सरकारको दोहोरो चेपुवामा परेका सर्वसाधारणहरुको त्यही नमिठो भोगाई एवं कथामा आधारित लघु चलचित्र धरानका रंगकर्मीहरुले बनाउदैछन् ।

थिएटर सहाराको प्रस्तुती रहेको द रेड मुन नामको यो लघु चलचित्रको आज शनिबार बिहान शुभमुर्हत गरिएको छ । धरान १४ स्थित पञ्चकन्या मन्दिर परिसरमा लघु चलचित्रको शुभमुर्हत गरिएको थियो । संघीय सांसद जयकुमार राई र नेपाल चलचित्रकर्मी महासंघका १ नम्बर प्रदेश अध्यक्ष अरुणकुमार प्रधानले निर्देशन र क्ल्याप गर्दै चलचित्रको शुभमुर्हत गरेका थिए । प्रधानले नरिवल फोड्नुका साथै मुर्हत निर्देशन गरे भने सांसद राईले क्ल्याप गरेका थिए । मुर्हत सिनमा कलाकार आरोही श्रेष्ठले अभिनय गरेकी थिइन् ।

red-moon

यो लघु चलचित्रको निर्देशक रविन श्रेष्ठ रहेका छन् भने निर्माता नविन मेन्याङवो रहेका छन् । क्यामेरामेन लुज सिंह छन् । लघु चलचित्रमा प्रेम सुब्बा, तुलसा थापा, आरोही श्रेष्ठ(बाल कलाकार), विजय सुब्बा, हिमाल दाहाल, तिर्थराज राईलगायत कलाकारहरु छन् । आजदेखि नै चलचित्रको छायाँकन शुरु भइसकेको निर्देशक श्रेष्ठले बताए ।

निर्देशक श्रेष्ठका अनुसार उनले अन्तर्राष्ट्रिय फिल्म फेस्टिवललाई लक्षित गरेर यो लघु चलचित्र बनाउन जुटेका हुन् । फिल्मले द्धन्दको बेला गाउँका मानिसहरुले भोगेको पीडालाई प्रस्तुत गर्ने उनले बताए । ‘द्धन्दमा गाउँमा कति असर थियो । गाउँ कति त्रसित थियो, युवा र बालबालिकाको मनोविज्ञानमा कति असर पर्छ भन्ने देखाउन खोजेको हो,’निर्देशक श्रेष्ठले भने,‘फिल्मको सम्बन्ध न माओवादीसँग छ, न सेनासँग नै छ । मात्र द्धन्दको असर, प्रभावसँग छ ।’ यो फिल्म १५ देखि २० मिनेटको हुनेछ । सुटिङ सोमबारसम्म सकिने निर्देशक श्रेष्ठको भनाई छ । छाँयाकन धरानको ग्रामिण भेगमा हुनेछ । तस्बिर: अरुणकुमार प्रधानred-moon1 red-moon3 red-moon2