धरान: प्रथम पटनाली च्यालेञ्ज कपको उपाधि बराहक्षेत्र फुटबल क्लबले जितेको छ ।
धरान १७ स्थित पटनाली खेल मैदानमा आज भएको फाइनल खेलमा गोधुली क्लबविरुद्ध टाइब्रेकरमा ५–४ को रोमाञ्जक जित हात पार्दै बराहक्षेत्रले उपाधि उचालेको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा गोधुलीका खेलाडी मिलन राई गोल गर्न चुकेपछि उपाधि बराहक्षेत्रको पोल्टामा पुग्यो । बराहक्षेत्रले उपाधि ट्रफीसँगै नगद ५० हजार हात पार्यो भने उपविजेता गोधुलीले नगद २५ हजारमा चित्त बुझायो ।
निर्धारित समयको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक भएको थियो । पहिलो हाफको खेल सकिदासम्म गोधुली २–० को अग्रता लिएको थियो । गोधुलीका मिलन राईले पहिलो गोल गरेका थिए भने रोमन लिम्बुले दोस्रो गोल गरेका थिए । तर, दोस्रो हाफको खेलमा अग्रता जोगाउन नसक्दा गोधुलीले उपाधिबाट नै बञ्चित हुनुपर्यो । दोस्रो हाफको खेल सकिन करिब ११ मिनेट बाँकी रहदा २ मिनेट भित्रै बराहक्षेत्रले काउन्टर अट्याक गर्दै २ गोल गरेका थिए । बराहक्षेत्रको लागि पहिलो गोल मौसम सुब्बाले गरे भने महेन्द्र कार्कीले बराबरी गोल गर्दै खेल रोमाञ्चक बनाएका थिए ।
फाइनल खेलको म्यान अफद म्याच गोधुलीका रोमन लिम्बू घोषित भए । उनले नगद १५ सय र ट्रफी पाए । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका गोधुलीका क्याप्टेन मनोज राई घोषित हुदै नगद १० हजार हात पारे । प्रतियोगितामा ४ गोल गरेका गोधुलीका मिलन राई उच्च गोलकर्ता, गोधुलीकै गोल किपर आशिष कार्की उत्कृष्ट गोल किपर, बराहका प्रकाश भुजेल उत्कृष्ट डिफेन्डर, गोधुलीका हेमन्त थापा उत्कृष्ट मिडफिल्डर, बराहका आकाश राई उत्कष्ट फरवार्ड, बराहका विशाल बस्नेत वेष्ट कोच र पटनाली फुटबल क्लबका सुदेश राई राइजिङ प्लेयर घोषित भए । उनीहरुलाई जनही ३१ सय नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि नेकपाका स्थायी कमिटि सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्य, अतिथिहरु एन्फा प्रदेश एकका अध्यक्ष किशोर राई, धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी, नेकपा प्रदेश सदस्य विजय राई तथा मुक्सामहाङ मेन्याङ्बो लगायतका अतिथिले पुरस्कार वितरण गरेका थिए ।