धरान: धरान १४ विजयपुरमा रहेका मन्दिरहरुमा आउने भक्तजनहरुलाई सरकारले तोकेको प्रोटोकल पालना गर्दै दर्शनको व्यवस्थापन गर्ने सहमति भएको छ ।

विजयपुरका मन्दिरहरु बन्द गरिए पनि भक्तजनहरु निरन्तर आइरहेपछि आज बिहान संघीय सांसद जयकुमार राई, धरानका मेयर तिलक राईसहितको छलफलले यस्तो निर्णय गरेको हो । संघीय सरकारले मठमन्दिर खोल्ने निर्णय नगरे पनि वडा कार्यालयले वस्तुस्थिति एवं आवश्यकता अनुसार भिडभाड हुन नदिई, भौतिक दुरी कायम राख्दै आएका भक्तजनहरुलाई दर्शन गर्न पाउने व्यवस्थापन गर्न जिम्मेवारी दिइएको छ । यसकोलागि वडाअध्यक्षको संयोजकत्वमा चारै वटा मन्दिर व्यवस्थापन समिति, प्रहरी, वडा सचिवलाई व्यवस्थापनको जिम्मेवारी दिइएको मेयर तिलक राईले जानकारी दिए ।

मेयर राईका अनुसार कोरोना संक्रमणको जोखिम न्युनीकरण गर्नको लागि भौतिक दुरीलाई कडाईका साथ पालना गराउनुपर्नेछ । यसकोलागि भिडभाड भएको अवस्थामा नगर प्रहरी, प्रहरी र सशस्त्र प्रहरीलाई पनि आवश्यकता अनुसार परिचालन गरिनेछ । ‘वडालाई समन्वय गर्न दिएका छौं । वडा कार्यालयले वस्तुस्थिति, आवश्यकता अनुसार व्यवस्थापन गर्नेछ,’मेयर राईले भने ।

pindeswor

वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले केन्द्र सरकारले अर्को निर्णय नगरेसम्म मठमन्दिर पुर्णरुपमा खोल्ने सम्भावना नभएको बताए । तर, आजको बैठकले संकल्प गरेर आउने भक्तजनहरुलाई दर्शन गर्नबाट बञ्चित नगरिने उनले बताए । ‘सकेसम्म मन्दिर व्यवस्थापन समितिले स्वयमसेवक खटाएर, सरकारको प्रोटोकललाई पालना गराउदै, भौतिक दुरी काम गर्दै दर्शन गर्नबाट बञ्चित नगर्ने भन्ने छ,’अध्यक्ष भट्टराईले भने,‘पहिलाको जस्तो ओपन गर्ने होइन, दुरी कायम गराउनुपर्छ ।’

वडाअध्यक्षले दोस्रो चरणमा मन्दिर बाहिर फूलमाला व्यवसाय गर्ने व्यापारीहरुसँग छलफल गरिरहेका छन् । फूलमाला व्यवसायीहरुलाई पनि नम्बर दिने र जोडी, विजोडी नम्बरलाई दिन बिराएर पालैपिलो पसल खोल्न दिने विकल्पबारे पनि छलफल भइरहेको उनले बताए । ‘यसो गर्दा व्यापारमा पनि दुरी रहन्छ, र भिडभाड पनि कम हुन्छ,’अध्यक्ष भट्टराईले भने ।

dantakali

कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले देशभरका धार्मिकस्थलहरुमा पुजाआजा बन्द गराएको छ । जसअनुसार धरानको पनि प्रसिद्ध मन्दिरहरु बुढासुब्बा, पिण्डेश्वर, दन्तकालीलगायत मन्दिरहरु बन्द गरिएको थियो । तर, भक्तजनहरु पनि दिनहुँ आइरहेको कारण मन्दिर दर्शनको लागि खुला गर्न दबाब परिरहेको छ । बजार, होटल तथा रेष्टुरेष्टहरु भिडभाडको साथ खुला हुँदा धार्मिकस्थल भने बन्द भएको भन्दै जनगुनासो बढीरहेको छ ।