सुनसरी: इटहरीमा रहेको क्यानभास साहित्य समाजले शनिबार कोरोना कहरले नेपाली साहित्यमा पारेको प्रभावबारे विचार गोष्ठी सम्पन्न गरेको छ ।

सुनसरीको इटहरी २ मा रहेको संगीत साधना प्रतिष्ठानको सभाहलमा कार्यक्रम भएको हो । गोष्ठीमा बोल्दै संस्थाका सल्लाहकार, साहित्यकार, प्रा.डा. भीम खतिवडाले कोरोना कहरले साहित्य लेख्नमा नवश्रष्टालाई प्रोत्साहन गरेको तर्क गरे । उनले भने, ‘बीचको समयमा भेटघाटका कार्यक्रम हुन नसेकेपनि यसले साहित्यमा सकारात्मक प्रभाव पारेको छ ।’ उनले पछिल्लो समय मानिसलाई जातीय विभेदको अवस्थाले थिचिरहेको उदृत गर्दै भने, ‘हामीकहाँ अहिले पनि जातीय विभेदले समाज परिवर्तन हुन सकिरहेको छैन, तर यसले साहित्यमा कुनै विभेद पारेको छैन र पार्नु हुँदैन ।’

कार्यक्रममा अग्रज कवि मनु मञ्जिलले अहिले उदाउँदै गरेका कवि पुस्ता चिन्तनशील नरहेको तर्क गरे । उनले भने, ‘कविता भनेको साधना हो, साधना भयो भनेमात्र एउटा राम्रो कविता बन्छ ।’ उनले साहित्यिक गतिविधिमा सक्रिय रहेको क्यानभासबाट उक्त कार्यक्रमको आयोजना हुनु अनुकरणीय रहेको तर्क गर्दै भने, ‘कविता लेख्नका लागि गहिरो अध्ययन गर्न आवश्यक छ, जस्तो एउटा संगीतकारले गीत रेकर्ड गर्दा कति साधना गर्नुपर्ला ? त्यस्तै नै हो कविता पनि ।’

कार्यक्रममा कवि विनय सरगमले अग्रज पुस्ताले नवश्रष्टालाई समेट्न नसकेको गुनासो व्यक्त गरे । उनले भने, ‘पूर्वमा सिंगो नेपाली साहित्यका आकाशहरु हुनुहुन्छ, तर नवश्रष्टालाई भने उहाँहरुले समेट्न नसकिरहेको अवस्था छ ।’ कार्यक्रममा कविहरु बद्री भिखारी, देवान किराँती, सुदीप पाख्रीन, सन्तोष थेवे, रोमु अधिकारी, राज आशातीत, नवराज मैनाली, रामप्रसाद खरेल, सुविद गुरागाईँ, विेकश कविन, किरण चौलागाईँ, अस्मिता भट्टराई, दीपा वाग्ले, पुस्तिका भण्डारी, किरण शिवा, बिनोद राई, सुमन रेग्मी, मिलन चाम्लिङ, मनोज दाहाल लगायतले कविता, गजल वाचन गरेका थिए । पूर्वको धरान, इटहरी, केराबारी लगायतका स्थानबाट तीन दर्जन बढी साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्यानभास साहित्य समाजका अध्यक्ष भरत दाहलले पछिल्लो समय कोरोनाले नेपाली साहित्यमा पनि प्रभाव पारेकाले जमघटका कार्यक्रमको आयोजना नभएकाले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने, ‘साहित्यका कार्यक्रमलाई निरन्तरता दिउँ भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।’

समाजका सचिव विवेक विवश रेग्मीले साहित्यिक गतिविधिलाई तीब्रता दिनका लागि कार्यक्रमको आयोजना गरिएको बताए । उनका अनुसार क्यानभास साहित्य समाजले ०७२ सालदेखि इटहरी क्षेत्रमा रहेर साहित्यिक गतिविधिका कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । ‘हामी निरन्तर साहित्यिक गतिविधिका कार्यक्रमहरु आयोजना गर्दै आइरहेका छौँ,’ उनले भने, ‘पृथक केही गर्न नसकिएपनि निरन्तरता दिउँ भन्नका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको हो ।’