धरान: कोरोना संक्रमणको जोखिम पुर्णरुपमा हटिसकेको छैन । त्यसैले स्वास्थ्य मन्त्रालयले पनि तत्काल विद्यालय नखोल्न अनुरोध गरिसकेको छ । तर, संक्रमणको जोखिमको बीचमा नै प्रदेश १ मा धमाधम विद्यालय खुल्न थालेका छन् । ती विद्यालयहरुले अनिवार्यरुपमा स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने स्थानीय पालिकाहरुको सर्त छ । 

चैत ११ गते लकडाउन यता लामो समय विद्यालयहरु बन्द भए । बीचमा शिक्षा मन्त्रालयले वैकल्पिक माध्यमबाट पठनपाठन गराउन भनेपछि अनलाइन कक्षा शुरु भएको थियो । तर, यो प्रभावकारी नभएको गुनासो र अभिभावकहरुले शुल्क नतिर्ने अडानका बीच विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै पठनपाठन शुरु हुन थालेको हो । विद्यालय सञ्चालन कार्यढाचाले पालिकाहरुलाई नै निर्णय गर्ने अधिकार दिएको कारण स्थानीय तहहरुले परिस्थिति एवं कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरिरहेका छन् ।

school-khulyo6

प्रदेश १ का सबैभन्दा बढी संक्रमण प्रभावित जिल्ला मोरङ, सुनसरी र झापा हो । यी तीन जिल्लाका अधिकांश पालिकाहरुमा विभिन्न मोडालिटीमा निजी तथा सामुदायिक विद्यालयहरु सञ्चालनमा आइसकेका छन् । केही पालिकाहरुले पनि विद्यालय सञ्चालनको तयारी गरिरहेको छ । संक्रमणको दर कम भएको ताप्लेजुङ, इलाम, पाँचथर, धनकुटालगायतका पहाडी जिल्लाहरुमा निर्वाधरुपमा विद्यालयहरु सञ्चालनमा आइसकेको प्रदेश १ का निमित्त शिक्षा विकास निर्देशक राजेन्द्र बुढाथोकीले जानकारी दिए ।

‘पहाडका सबै जिल्लाको पालिकाहरुमा विद्यालयहरु शुरु भइसकेको छ । थोरै विद्यार्थी भएको विद्यालयले एक सिफ्ट र धेरै विद्यार्थी भएको मावि तहले २ सिफ्टमा पढाई गरिरहेका छन्,’निर्देशक बुढाथोकीले भने,‘संक्रमण बढी भएको जिल्लाको पालिकामा दिन बिराएर पनि पढाई भइरहेको छ ।’ पहाडी जिल्लामा कतिपय ठाउँमा ४ घण्टा मात्र पढाई गरेर खाजा नखुवाई २ बजे नै विदा गर्ने गरेको पनि उनले जानकारी दिए । ‘विद्यालय सञ्चालनको निर्णय गर्ने अधिकार पालिकालाई नै भएकोले आफ्नो परिस्थिति अनुसार पालिकाहरुले निर्णय गरिरहेका छन्,’बुढाथोकीले भने ।

school-khulyo3

शिक्षा विकास तथा समन्वय ईकाई सुनसरीका प्रमुख रमेश दाहालका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर निजी तथा सामुदायिक विद्यालयहरु सञ्चालनमा आएका छन् । सुनसरीको सबैभन्दा बढी संक्रमण भएको सहर धरान र इटहरीमा पनि विद्यालयहरु खुलेको उनले बताए । धरानको निजी विद्यालयहरु बिहिबारदेखि नै खुलिसकेका छन् भने सामुदायिक विद्यालयहरु पनि आइतबारदेखि पुर्णरुपमा सञ्चालनमा आउने तयारीमा रहेको दाहालले बताए । ‘मंसिर २८ गतेदेखि सबै पालिकाहरुमा विद्यालय सञ्चालन हुन्छ,’उनले भने,‘स्वास्थ्य प्रोटोकल सबैले पालना गर्नैपर्छ । विद्यार्थीको संख्या र भौतिक संरचना अनुसार विद्यालयहरुले एक वा दुई सिफ्टमा पढाई गर्ने गरिरहेका छन् ।’

मोरङका पनि अधिकांश स्थानीय तहका विद्यालयहरु खुलिसकेका छन् । प्रदेश १ कै एक मात्र महानगर विराटनगर महानगरपालिकाले पनि पुष २ गतेदेखि विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ । मोरङमा सबैभन्दा पहिला कानेपोखरी गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसपछि विभिन्न ६ वटा पालिकाले एकैपटक विद्यालय खुलाउने निर्णय गर्यो । विद्यालयमा ज्वरो नाप्ने, हात धुने, मास्क अनिवार्य लगाउने, बेञ्चमा २ जना मात्र राख्ने, बिहान र दिउँसो सिफ्टमा पढाउनेलगायत मापदण्ड अपनाएर विद्यालयहरु खुलेका छन् । तस्बिरहरु: विकास चाम्लिङ राई

sahid