धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको खानेपानी आपूर्तिको संरचनाहरुको अवस्था पत्ता लगाउन एक प्राविधिक समिति गठन गरिएको छ ।
आज बिहान उपकुलपति कार्यालयमा धरान उपमहानगरपालिका, खानेपानी संस्थान र प्रतिष्ठानबीच बसेको त्रिपक्षीय बैठकले ५ सदस्यीय समिति गठन गरेको हो । समितिको संयोजकमा प्रतिष्ठानका चिफ इञ्जिनियर इलेक्ट्रिकल नेत्र खड्का छन् भने सदस्य सचिवमा प्रतिष्ठानकै अधिकृत इञ्जिनियर विकास बस्याल छन् । सदस्यहरुमा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी अधिकृत राजु पोख्रेल, संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठ र बोर्डका इञ्जिनियर प्रशान्त अधिकारी रहेका छन् ।
समितिले २ दिनभित्र प्रारम्भिक रिपोर्ट बुझाउने र संस्थान, प्रतिष्ठानको जिम्मेवारीमा परेको मर्मत तथा निर्माण कार्य ७ दिनभित्र सम्पन्न गर्नुपर्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत पोख्रेलले जानकारी दिए । उनले भने,‘समितिले काम आजैदेखि शुरु गर्छ । २ दिनभित्र प्रारम्भिक रिपोर्ट बुझाउछौं, र ७ दिनभित्र संस्थान, वीपीको भागमा जे जे बनाउनुपर्ने हुन्छ, बनाइसक्नुपर्नेछ ।’
खानेपानी संस्थानको सम्पुर्ण सम्पत्ति तथा दायित्व धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण हुने भएकोले वीपी प्रतिष्ठानको खानेपानी आपूर्तिको संरचनाहरुको अध्ययन शुरु भएको हो । झण्डै २ दशकदेखि प्रतिष्ठानले आफ्नो खानेपानी संरचनाहरुको सञ्चालन तथा रेखदेखको जिम्मा खानेपानी संस्थानलाई दिएको थियो । त्यसवापत प्रतिष्ठानले बार्षिक ८० लाख भन्दा बढी संस्थानलाई बुझाउने सम्झौता गरेको छ । तर, केही दिनअघि गरिएको अनुगमनको क्रममा संस्थानले उचित रेखदेख नगर्दा प्रतिष्ठानको खानेपानीको संरचनाहरु जीर्ण अवस्थामा पुगेको देखिएको थियो ।
प्रतिष्ठानको सामान्य प्रशासनका निमित्त प्रमुख महेश्वर ताम्ला राईका अनुसार संस्थानको सम्पत्ति तथा दायित्व बोर्डमा जाने भएपछि यो संक्रमणकालमा प्रतिष्ठानमा दैनिकरुपमा पानी आपूर्ति कसरी गर्ने भनेर पहल थालिएको हो । ‘प्राविधिक समितिले वस्तुस्थिति पत्ता लगाउछ । प्रतिष्ठानको डिप बोरिङ, मेशिन, जेनेरेटर, ट्रान्सफर्मरको अवस्थादेखि दैनिक उत्पादन हुने पानीको अवस्था पनि अध्ययन गरेर रिपोर्ट दिन्छ,’राईले भने,‘त्यसपछि, संस्थानसँगको सम्झौता रद्द गर्ने र बोर्डसँग नयाँ सम्झौता गर्ने प्रक्रिया अघि बढ्छ ।’
त्रिपक्षीय बैठकमा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी, धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, संस्थानको धरान शाखा प्रमुख रामकुमार श्रेष्ठलगायत अन्य प्राविधिकहरुको सहभागिता रहेको थियो ।