धरान: धरानका मेयरसहितको टोलीले आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको खानेपानी सिस्टमको अनुगमन गरेका छन् ।

मेयर तिलक राई, प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी, संस्थानको धरान शाखा प्रमुख रामकुमार श्रेष्ठसहित इञ्जिनियर, प्राविधिकहरुको टोलीले प्रतिष्ठानको खानेपानी सिस्टमको स्थलगत अनुगमन गरेका हुन् । प्रतिष्ठानले सम्झौता गरेर खानेपानी आपूर्तिको व्यवस्थापन तथा सञ्चलनको लागि संस्थानलाई बार्षिक लाखौं रुपैया तिर्दै आएको छ । संस्थानको सम्पुर्ण सम्पत्ति तथा दायित्व धरान खानेपानी व्यवस्थापन बोर्डमा आउने भएपछि प्रतिष्ठानको खानेपानी आपूर्तिबारेको पनि जिम्मेवारी लिनुअघि स्थलगत अनुगमन गरिएको हो । बोर्डको अध्यक्ष धरानका मेयर रहने व्यवस्था छ । संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

अनुगमनको क्रममा प्रतिष्ठानको भौतिक संरचनाहरु ज्यादै जीर्ण अवस्थामा भएको पाइएको थियो । अहिलेकै अवस्थामा खानेपानी व्यवस्थापन बोर्डले जिम्मा लिन नसक्ने प्रष्ट धारणा मेयर राईले राखेको पनि खानेपानी आयोजना प्रमुख एवं इञ्जिनियर राजु पोख्रेलले जानकारी दिए । ‘वीपीको खानेपानी आपूर्तिको सम्पुर्ण सिस्टमको अनुगमन भयो, संरचनाहरु जीर्ण अवस्थामा भएको पाइयो,’उनले भने,‘मेयर साबले मर्मत गर्नुपर्नेलाई संस्थानले तत्काल गर्न र थप्नुपर्ने कुरा प्रतिष्ठानले थपेर सुधार गर्न भन्नु भएको छ । त्यसपछि बोर्डले पर्याप्त पानी आपूर्ति गर्छ ।’

bp-khanepani1

प्रतिष्ठानले २०५६ सालदेखि सम्झौता गरेर आफ्नो खानेपानी आपूर्ति तथा संरचना संचालनको जिम्मा संस्थानलाई दिएको हो । यसवापत प्रतिष्ठानले ८० लाख भन्दा बढी संस्थानलाई तिर्दै आएको छ । यो रकम विद्युत, फ्युल, जनशक्ति र मर्मतसम्भारको लागि हो । संस्थानले भने सम्झौता वमोजिमको पैसा लिने तर काम भने नगर्ने गरेको कारण प्रतिष्ठानको खानेपानीको संरचनाहरु दयनीय अवस्थामा पुगेको अनुगमनको क्रममा देखिएको छ । प्रतिष्ठानको चारकोसे जंगलमा २ वटा डिप बोरिङ(वेल) र एउटा रिजर्ब वेयर रहेको छ । २ वटा मध्ये एउटा वेल ३ बर्षदेखि फेलियर भएर पानी न्युन मात्रा उत्पादन भइरहेको पाइएको छ भने जेनेरेटर कुनै पनि चलेको छैन । प्रतिष्ठानमा पानीको चरम अभाव छ । आपूर्तिको जिम्मेवारी लिएको संस्थानले सम्झौता वमोजिम मर्मतसम्भार तथा सुधार नगर्दा यस्तो अवस्था भएको हो ।

प्रतिष्ठानका रजिष्ट्रार डा.रेग्मीले संस्थानसँग सम्झौता भएअनुसार पालना नभएको पाइएको बताए । ‘सम्झौता गरेअनुसार पालना भएको रहेनछ । संरचनाहरु जीर्ण छ, संस्थानले सोचेजस्तो टेककेयर भएको देखिएको छैन । मर्मतसम्भार सोचेजस्तो छैन । प्रतिष्ठानबाट फलोअपमा कमीकमजोरी भयो,’डा.रेग्मीले भने,‘आज अनुगमन राम्रो भयो । बिग्रेका संरचनाहरु बनाउन लगाउछौं । प्राविधिकसँग छलफल गछौं, पदाधिकारी बस्छौं, र खाका तयार गरेर अघि अघि बढ्छौं ।’ bp-khanepani2

धरानका मेयर राईले संस्थानले भन्दा राम्रो र पर्याप्तरुपमा बोर्डमार्फत खानेपानी प्रतिष्ठानलाई आपूर्ति गर्ने बताए । तर, प्रतिष्ठानको खानेपानी आपूर्तिको संरचना पनि ठिक अवस्थामा बोर्डलाई दिनुपर्ने उनले बताए । ‘संस्थानले भन्दा राम्रोढंगले सञ्चालन गरेर पानी खुवाउछौं, तर प्रतिष्ठानले साविकको संरचनालाई सुधार गरेर, राम्रो अवस्थामा बोर्डलाई दिनुपर्छ,’मेयर राईले भने,‘स्थलगत निरीक्षण गरेर हेर्दा वीपीको संरचना दयनीय अवस्थामा पायौं ।’ संस्थानको धरान शाखा प्रमुख श्रेष्ठसँग सम्पर्क प्रयास गर्दा उनले फोन उठाएनन् ।