धरान: धरानको माछा भौडी निक्कै चर्चित ठाउँ हो । भानुचोकदेखि पुर्व देशीलाइन सडक, चिनिया चोकबाट दक्षिण झर्ने कैलाश पथ र सदन रोड पश्चिम आएर ठोक्किन्छ । त्यस ठाउँलाई दोभान चोक भनिन्छ ।

त्यो चोक वडा नं २ र ३ को सिमाना हो । स्थानीयहरु त्यसलाई नो म्यान्स ल्याण्ड पनि भन्छन् । त्यही चोकबाट दक्षिणतर्फ भौडी बग्छ, जसको नाम हो माछा भौडी । खासमा यो ड्रेन हो, तर बर्षाको पानी निक्कै गहिरो र ठुलो रुप लिइसकेको छ । यसको दाँया र बाँया दुवैतर्फ शान्तिपथतर्फ झर्ने सडक बनिसकेको छ । यो भौडी भने फोहोर र दुर्गन्धले गर्दा फोहोरी ठाउँको परिचय बनाइसकेको थियो । स्थानीयबासीहरु पनि माछा भौडीको फोहारबाट आजित थिए । धरानका वरिष्ठ कवि एवं स्थानीय सुदिप पाख्रिन भन्छन्,‘हाम्रो बाउ बाजेकै पालादेखि फोहोरी, दुर्गन्धित ठाउँ भनेर परिचित थियो, मान्छेहरु ओहारदोहोर गर्दा छिः यस्तो फोहोर ठाउँमा कसरी बस्न सकेको होलान् ? भन्थे ।’

maxa5

अहिले कवि पाख्रिन मात्र होइन, स्थानीयबासी सबै दंग छन् । माछा भौडी भएर हिड्नेहरु पनि पहिला जस्तो नाक खुम्च्याउदै हिड्नुपर्ने अवस्था छैन । माछा भौडीको रुप फेरिदैछ । पहिला फोहोर र दुर्गन्ध फैलिने भौडीमा सुन्दर पार्कको परिकल्पना अनुसार धमाधम भौतिक संरचनाहरु निर्माण भइरहेको छ । ‘यस्तो रुप हुन्छ होला भन्ने सोचेकै थिएनौं, अर्कै रुप लियो । सुन्दर र कल्पनाभन्दा बाहिरको बन्यो । खुशी छौं,’कवि पाख्रिन भन्छन् ।
अर्का स्थानीय युवा उत्तरकुमार गुरुङ पनि आफु यही जन्मिएर हुर्किएको भन्दै डम्पिङ साइट जस्तो फोहोर ठाउँमा पार्क निर्माण हुन थालेको भन्दै खुशी व्यक्त गर्छन् । उनले भने,‘त्यस्तो फोहोर ठाउँमा अहिले पार्क निर्माण हुदैछ । हामी अति खुशी छौं । ज्येष्ठ नागरिकलाई मात्र बनाउने भनेको थियौं, तर अहिले केटाकेटीहरुलाई खेल्ने ठाउँ पनि बन्दैछ, धरान भरिको लागि हुने भयो ।’

तीन बर्षदेखिको योजना

maxa-bhaudi8

माछा भौडीकोरुप फेरिन थालेको अहिले भर्खर भने होइन । २०७४ मा पहिलो स्थानीय तह निर्वाचन पछि नै यसको रुप फेरिन शुरु गरेको हो । स्वर्गीय मेयर तारा सुब्बाको पालामा ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर नगर गौरवको आयोजनामा छनौट गरि यहाँ पार्क निर्माण कार्य अघि बढेको थियो । पहिलो बर्ष ३७ लाख बराबरको काम भयो । निर्माण कार्य अघि बढ्दै जादा ज्येष्ठ नागरिकको लागि मात्र नभै बालबालिकाहरुको लागि पनि मनोरञ्जन गर्ने ठाउँकोरुपमा विकास गर्ने अवधारणा अघि बढेको ३ नम्बर वडाका सदस्य एवं कार्यपालिका सदस्य विकास वनेपाली बताउँछन् । ‘शुरुमा ज्येष्ठ नागरिकहरुलाई लक्षित मात्र पार्क बनाउने भन्ने थियो,त र काम गर्दै जादा सहर बीचमा बालबालिकाहरुलाई घरबाहिर यास्एर खुलामा खेल्ने वातावरण बनाउनुपर्छ भनेर पार्कको अवधारणा बढ्दै गयो,’उनले भने ।

maxa2

उनका अनुसार पहिलो बर्ष ३७ लाखको काम भयो भने दोस्रो पटक ७० लाखको काम भयो । गत आर्थिक बर्षमा काम हुन सकेन । यसपाली पुनः ठेक्कामार्फत ५० लाखको पार्क निर्माण कार्य तीब्रगतिमा भइरहेको छ । ‘अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको छ, पुष मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ,’वनेपालीले भने । उनका अनुसार बालबालिकाहरु रमाउने पार्क पनि बन्ने छ भने बीचमा पर्यटकहरुलाई आकर्षित गर्न पानीको फोहोरा पनि निर्माण हुनेछ । बिहान मनिङ वाक गर्नेहरुको लागि जिम गर्ने केही सामानहरु पनि राखिनेछ । माछा भौडीको पहिचान दिलाउन माछा वा जलपरीको स्तम्भ राख्ने योजना रहेको पनि उनले खुलाए ।

डबलीकोरुपमा विकास गर्ने योजना

maxa4

माछा भौडीमा पार्क निर्माण भएपछि के नामकरण गर्ने भन्ने निर्णय स्थानीयले गरिसकेका छैनन् । तर, यो पार्कको शिरतर्फ रहने खुला स्थानलाई डबलीकोरुपमा विकास गर्ने योजना भने बनिसकेको छ । उक्त डबलीलाई स्वर्गीय कवि कृष्ण पाख्रिनको नाम दिने बिषयमा लगभग समझदारी पनि बनिसकेको छ । ‘पार्कलाई अझ परिष्कृत गरेर डबलीकोरुपमा विकास गर्ने अवधारणा बनाएका छौं, यहाँ कविता गोष्ठी, चित्रकला प्रर्दशन गर्ने, सानातिनो विरोध कार्यक्रम गर्ने, खबरदारी गर्ने, जनचेतनामुलक कार्यmत्रम गर्ने ठाउँकोरुपमा विकास गर्ने योजना हो,’वडा सदस्य वनेपाली भन्छन्,‘नामकरण स्वर्गीय कवि कृष्ण पाख्रिन डबली गर्ने कि भन्ने सोच छ ।’ स्वर्गीय कवि पाख्रिनको घर त्यही पर्छ ।

maxa-bhaudi9

स्वर्गीय पाख्रिनका छोरासमेत रहेका सशक्त युवा कवि सुदिप पाख्रिन पार्कमा डबलीकोरुपमा विकास गर्दा साहित्यिक र बौद्धिक महत्व पनि बढ्ने बताउँछन् । अझ उनी त पार्कको उद्घाटनको बेला २ वा ३ दिन उत्सव गर्ने योजना बुनेको बताउँछन् । ‘उद्घाटन गर्दा २, ३ दिन उत्सव गरेर फोटो प्रर्दशनी, चित्रकला वर्कसप, सकेसम्म मुर्तिकलाको वर्कसप गर्ने । साहित्यिक कार्यक्रम गर्ने, नाटक मञ्चन गर्ने योजना छ । सकिएछ भने उद्घाटनको समयलाई बार्षिकोत्सवकोरुपमा मनाउदै हरेक बर्ष उत्साव गर्ने सोच छ,’कवि पाख्रिन भन्छन् ।

maxa maxa-bhaudi1 maxa-bhaudi7 maxa-bhaudi2 maxa-bhaudi6