धरान: खानेपानी संस्थानको धरानस्थित शाखा कार्यालयको सम्पत्ति तदा दायित्व हस्तान्तरणको प्रक्रियाले गति लिएको छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डले संस्थानको महशुल काउन्टर र आर्थिक कारोबार बन्द गर्न, साथै मर्मतको काम चडो सम्पन्न गरेर हस्तान्तरण गर्न पत्राचार गरेको छ । बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले मेयर तथा बोर्ड अध्यक्ष तिलक राईको निर्देशन अनुसार हिजो मंगलबार र आज गरि २ वटा पत्र संस्थानको धरान शाखालाई पठाएको जानकारी दिए । उनले भने,‘हिजोको पत्रमा संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरण प्रक्रियामा भएकोले महशुल लगायत सम्पुर्ण आर्थिक कारोबार बन्द गरेर मंसिर मसान्तसम्मको हरहिसाब दुरुस्तर राखी आर्थिक विवरण बुरबुझारथ गर्न र हस्तान्तरण कार्य सम्पुर्णरुपमा नटुंगिएसम्म भने खानेपानी सेवा सुचारु गर्न भन्ने निर्देशन अनुरोध पत्र पठाएका छौं ।’ यस्तै, आज थप अर्को पत्र पठाएर बोर्डले बिग्रेको संरचनाहरु चाडो बनाएर हतान्तरण गर्न भन्दै संस्थानको शाखा कार्यालयलाई पत्राचार गरिएको छ ।

बोर्डको पत्राचार अनुसार आजदेखि संस्थानले खानेपानीको महशुल काउन्टरसहितको आर्थिक कारोबार बन्द गरिसकेको छ । संस्थानले सुचना टाँसेर बोर्डको पत्र अनुसार महशुललगायत कारोबार बन्द गरेको जानकारी उपभोक्ताहरुलाई गराएको संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिए । उनले भने,‘बोर्डबाट पत्र आएकोले अर्को व्यवस्था नगरेसम्मलाई महशुल काउन्टर बन्द भएको सुचना गरिएको हो ।’ यद्यपी उनले बोर्डको निर्णयको प्रति माग गरेको पनि जानकारी दिए ।

संस्थानमा घेराउ

khanepani

संस्थानलाई बोर्डमा हस्तान्तरण गर्ने निर्णय र प्रक्रियाको विरोध गरिरहेको दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले भने आज बुधबार संस्थानको कार्यालयमा घेराउ गरेको थियो । संस्थानलाई बोर्डमा हस्तान्तरण गर्न नपाइने भन्दै घेराउ गर्न पुगेको संघर्ष समितिले महशुल काउन्टर बन्द गरेकोमा पनि तीब्र विरोध जनाएको छ । उनीहरुले संस्थानका निमित्त प्रमुख श्रेष्ठलाई घेराउ गर्दै महशुल काउन्टर बन्द नगर्न दबाब दिएका थिए । श्रेष्ठले भने बोर्डको पत्र अनुसार बन्द गरिएको जवाफ दिएपनि संघर्ष समितिले खोल्नै पर्ने अडान राखेको थियो ।

संघर्ष समितिका संयोजक हर्क साम्पाङले ले भोली बिहिबारदेखि काउन्टर खोल्न दबाब दिएको र खुला नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए । ‘जर्बजस्ती पेलेर संस्थान हस्तान्तरण गरेको हामी मान्दैनौं, भोलीदेखि काउन्टर पनि खुला हुनुपर्छ भनेर दबाब दिएका छौं,’उनले भने,‘ऋणमाथि ऋण बोकाउने प्रोजेक्ट स्वीकार्य हुदैन । हामी भौतिक आक्रमणमा पनि उत्रन बाध्य हुन्छौं ।’