धरान: दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिका संयोजक हर्क साम्पाङले खानेपानी संस्थानको धरानस्थित शाखा कार्यालयका प्रमुख रामकुमार श्रेष्ठलाई भौतिक कारबाही गर्ने धम्की दिएका छन् ।

आफ्ना समर्थकहरुसहित बुधबार संस्थानको कार्यालय पुगेको साम्पाङले बिहिबार बिल काउन्टर नखोले श्रेष्ठलाई भौतिक कारबाही गर्ने धम्की दिएका हुन् । संस्थानको शाखा कार्यालय हस्तान्तरणको विरोध गरिरहेको संघर्ष समितिका संयोजक साम्पाङ बुधबार आफ्ना समर्थकहरुसहित कार्यालयमा पुगेका थिए । धरान खानेपानी व्यवस्थान बोर्डले सम्पत्ति तथा दायित्व हस्तान्तरण प्रक्रिया अघि बढेकोले महशुल काउन्टर बन्द गर्न पत्राचार गरेपछि प्रमुख श्रेष्ठले आज बुधबारदेखि काउन्टर बन्द गर्ने सुचना निकालेका थिए । त्यसको विरोध गर्दै साम्पाङले श्रेष्ठलाई उनकै कार्यकक्षभित्र नै भौतिक कारबाहीको धम्की दिएका हुन् ।

साम्पाङले भोली(बिहिबार) महशुल काउन्टर नखोले कारबाही गर्ने भन्दै कार्यालयमा नै धम्की दिएका थिए । उनले सुरक्षाको लागि संस्थानमा पुगेका प्रहरीकै अघि धम्की दिएका थिए । ‘भोली तपाईले महशुल केन्द्र खोल्नु भएन भने तपाईलाई हामी भौतिक कारबाही गछौं, बुझ्नु भो ? तपाईले हामीले पैसा तिर्ने बिलको काउन्टर किन बन्द गर्नुहुन्छ ?,’साम्पाङले भने,‘जनतालाई च्यालेन्ज गर्नुहुन्छ ? त्यो नगर्नुस् है राम सर । हामी तपाईलाई सम्मान गरिरहेका छौं, तपाईलाई अपमान गर्नसक्छौं ।’

साम्पाङले अहिलेको भन्दा १० गुणा बढी भिड जम्मा गर्ने चेतावनी दिदै बिल काउन्टर खोल्न एक दिनको समय बक्सिस दिएको पनि बताएका छन् । ‘तपाईलाई एक दिन हामीले बक्सिस दियौं, भोली हेर्नुस्, खुलेन भने तपाईलाई हामी के गछौं ?’साम्पाङले भने । यसअघि साम्पाङ खानेपानीको मुहानको पाइपलाइन तोडफोड गरेको आरोपमा पक्राउ परेका थिए ।