धरान: सातै प्रदेश र केन्द्रमा नेकपा नेतृत्वको सरकार छ । सत्तारुढ दल आफै घर झगडामा अलमलिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारविरुद्ध प्रहार गरिरहेको छ ।

केही दिनअघि सरकारविरुद्ध देशव्यापी विरोध प्रर्दशन गरेको कांग्रेसको खेलकुद विभागले आज धरानमा वृहत रक्तदान र खेलाडी, प्रशिक्षकहरुलाई सम्मान कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा केन्द्रदेखि प्रदेशका नेताहरुले पनि सरकारको चर्को आलोचना गरे । केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मोहनबहादुर बस्नेतले वर्तमान सरकारले कोरोना महामारीको बेला मास्क, सेनिटाइजर, पिपिई सेटमा पनि भ्रष्टचार गरेको आरोप लगाए । जनतालाई राहत दिने बेला मास्कबाट पनि कति कमिशन खाने भनेर सरकार भ्रष्ट बनेको उनले बताए ।

Mohan basnet congress

आफुहरुले पनि संक्रमण दर उच्च भएको र लकडाउनको बेला स्वास्थ्य सामग्री खरिद गरेको उल्लेख गर्दै नेता बस्नेतले १३ देखि १६ रुपैया पर्ने मास्कलाई ५२ रुपैयामा किनेको, १२५ रुपैयासम्म पाउने केएन ९५ मास्कलाई ८ सय रुपैयामा किनेर सरकारले भ्रष्टचार गरेको उनको दाबी थियो । भ्रष्टचारको कुरा निरन्तर उठाइरहेको कांग्रेसलाई नै अमिलो हुन थालेको बस्नेतको भनाई थियो । ‘केलाई भन्दा केलाई लाज जस्तो भयो, उनीहरु भ्रष्टचारजन्य क्रियाकलापमा नै रमाउने रहेछ,’बस्नेतले भने ।

वडा सदस्यमा हारेकाहरुलाई पनि नेकपा सरकारले सांसद बनाइरहेको भन्दै बस्नेतले संसदलाई हरुवाहरुको बस्ती बनाएको भन्दै कटाक्ष पनि गरे । ‘कम्युनिष्टहरु बहुलवाद मान्दैनन्, अहिले ओलीले संविधान मानिरहेको छैन, आफ्नै पार्टीको विधान नमानेर बहुमतर्ला पनि मान्दै मान्दिन भन्दैछ,’उनले भने,‘यो सरकारले बहुलवादको रक्षा गर्दैन, लोकतान्त्रिक शासन गर्दैन ।’

प्रदेश १ सरकार बुख्याचा जस्तो: कोइराला

rajib-koirala

नेपाली कांग्रेसका सुनसरी जिल्ला सभापति तथा प्रदेश १ सभामा प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले प्रदेश १ सरकार बुख्याचा जस्तो सावित भएको बताए । सम्मान कार्यक्रममा बोल्दै उनले अहिलेसम्म प्रदेशका सांसदहरुले पुर्वाधार विकास कार्यक्रमहरु नपाएको र बजेटहरु पनि ५० प्रतिशतको दरले कट्ने अवस्था बनेको बताए ।

नेता कोइरालाले संघीय सरकारहरु असफलतातिर गइरहेको पनि दाबी गरे । वर्तमान ओली सरकारले गर्दा नै संघीयता कुण्ठित भएको उनको भनाई थियो । ‘प्रदेश १ को प्रमुख प्रतिपक्षीको संसदीय दलको नेता भएको नाताले पनि नजिकबाट अध्ययन गरेका छौं, संघीयता असफलतातिर गइरहेको छ, यो सरकार संघीयताको पक्षमा पनि छैन,’उनले भने ।

प्रधानमन्त्री कार्यालयका ३ जनालाई भ्रष्टचारको जिम्मा: पुर्वप्रदेश प्रमुख

gobinda-subba

प्रदेश नं १ का पुर्वप्रदेश प्रमुख डा.गोविन्द सुब्बाले पनि वर्तमान सरकार भ्रष्टचारको दलदलमा फसेको आरोप लगाए । महामारीको बेला औषधी खरीदमा भ्रष्टचार गरेको र घुस रकम बर्गोनिङ गरेको अडियो बाहिरिदा पनि प्रधानमन्त्रीले उनीहरुको बचाउ गरेको सुब्बाको आरोप थियो ।

उनले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसहित ३ जनाले ठेक्काको जिम्मा लिएको र भ्रष्टचार गरिरहेको दाबी पनि गरे । प्रधानमन्त्री र नेकपा नेताहरुको संरक्षण पाएको ठेकेदारहरुले गरेको भ्रष्टचारलाई संरक्षण गर्ने काम भइरहेको डा.सुब्बाको भनाई थियो ।