धरान: प्रदेश १ बास्केटवल खेलाडी प्रदिप गुरुङ्गको उपचारको लागि धरान ११ सृजना मार्ग स्थित मितेरी स्पोर्टस सेन्टरले आर्थिक सहयोग गरेको छ ।

सेन्टरका अध्यक्ष ज्ञान वहादुर राईले ३० हजार रुपैया सहयोग गरेका हुन् । उनले नेपाल वास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामालाई सहयोग रकम आइतबार हस्तान्तरण गरेका थिए । प्रशिक्षणको क्रममा घाइते भएका गुरुङ्गको उपचारका लागि धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघले सहयोग संकलन अभियान चलाइरहेको छ । संघले यही पुस ८ गते वुधवार डिपो स्कुलको खेल मैदानमा धरान बास्केटवल टिम र झापा बास्केटवल टिमबीच मैत्रीपुर्ण च्यारिटी खेलको पनि आयोजना तयारी गरिरहेको छ ।

सेन्टरले यहि मंसिर २५ र २६ गते फुटसल फर च्यारिटी नाराका साथ मितेरी फुटसल च्यारिटप् प्रतियोगिताको आयोजना गरेको थियो । सोही च्यारिटी प्रतियोगिताबाट उठेको रकम सहयोग गरेको अध्यक्ष राईले जानकारी दिए । सेन्टरका प्रोपराइटर लोकेन्द्र राई हाल सिंगापुरमा भएको र उनले फेसवुकमा प्रदिप गुरुङ्गको विषयमा देखेपछि सहयोगका लागि आफुलाई जानकारी गराएको अध्यक्ष राईले बताए । उनी लोकेन्द्रका बुुवा हुन् ।

भर्खरै मात्र संचालनमा आएको स्पोर्टस सेन्टरमा एकै ठाउमा फुटसल, जिमहल, माथिल्लो तलामा व्याडमिन्टन कोर्ट र क्याफे रहेको छ । औपचारिक उद्घाटन हुन बाँकी रहेको सेन्टरले चाडै स्विमिङ्ग पुल समेत निर्माण गरेर संचालनमा ल्याउने अध्यक्ष राईले बताए । प्रशिक्षणको समयमा घाइते भएका गुरुङ्गको दाहिने खुट्टाको एसिएल च्यातिएको छ । डाक्टरका अनुसार मेजर सर्जरी गर्नुपर्ने । उनको उपचारको लागि करिव दुई लाख ५० हजार रुपैया लाग्ने जनाएको छ ।

सेन्टरले च्यारिटीबाटै उठेको रकमबाट २० हजार रुपैया धरानको सम्यक शिक्षा समुहलाई समेत छात्रवृत्तिको लागि सहयोग गरेके छ । सहयोग रकम अध्यक्ष राईले सम्यक शिक्षाका अध्यक्ष सन्दिप श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा सेन्टरका व्यावस्थापक विष्णु राई, प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई लगायतको उपस्थिति रहेको थियो ।