धरान: धरानका गायक ज्ञान सुब्बाको स्वरमा रहेको ‘ धरान शहर..’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ ।
धरानको गोर्खा डिपार्टमेन्टको हलमा सोमबार आयोजित एक कार्यक्रमका बीच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । धरान उपमहानगरपालिकाकी प्रमुख अतिथि एवं उपप्रमुख मञ्जु भण्डारी सुवेदीले एलईडी स्क्रिनको प्ले बटन थिचेर ‘धरान शहर..’ सार्वजनिक गरेकी थिइन् । सोही समयमा नै गायक ज्ञान सुब्बाको युट्यूव च्यानल मार्फत पनि उक्त भिडियो सार्वजनिक गरिएको थियो ।
गीतको शब्द अनुरुप धरान र यस क्षेत्र आसपासका बराहक्षेत्र, भेडेटारका विभिन्न पर्यटकीय क्षेत्रहरु कैद गरिएको छ । गीतको रचना हर्क चुम्मेको रहेको छ भने संगीत जीवन भट्टराईको रहेको छ । भावना स्टुडियो धरानमा गीत रेकर्ड गरिएको हो । गीतमा कुमार थापाको संगीत संयोजन रहेको छ। सिल्भर इन्टरटेनमेन्टको निर्माणमा थैली इन्टरटेनमेन्टको भुपेन्द्र तुम्बहाम्फेको छायाँकन र निर्देशनमा भ्युजिक भिडियो तयार भएको हो । उक्त म्युजिक भिडियोमा रेखा लिम्बु, बिनोद बस्नेत, बादल श्रेष्ठ, जोयना लिम्बु, बिपना श्रेष्ठ, निशान लिम्बु र किरण श्रेष्ठको अभिनय रहेको छ । सम्पादन अनिल रानाको रहेको छ।
धरान सरोकार समाजका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ, वरिष्ठ लोक गायक गंगा बरदान, वरिष्ठ कलाकार प्रेम सुब्बा, धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ धरान उपमहानगरपालिकाको पर्यटन समिति सहसंयोजक किशोर थुलुङ्ग लगायत कार्यक्रममा उपस्थित रहेका थिए । कार्यक्रममा बरिष्ठ गायक दिप श्रेष्ठ, बरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बा, धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुबर्ण श्रेष्ठले भिडियो मार्फत शुभकामना सुन्देश दिएका थिए भने गायक ज्ञान सुब्बाका अन्य दुई वटा ओ ब्यस्त जीवन र हिउँदोको घाम गीत समेत देखाईएको थियो।
कार्यक्रममा नेपाल जेसिज २०२१ को राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित धरान जेसिज २०२० का अध्यक्ष दिपेन्द्र निरौलालाई प्रमुख अतिथि एवं उपमेयर भण्डारी र सिल्भर इन्टरटेनमेन्टको प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले खादा र सम्मानपत्रले सम्मान गरेका थिए । प्रमुख अतिथि एवं उपमेयर भण्डारीले धरान पुर्वको पर्यटनको हबको रुपमा रहेको चर्चा गर्दै यो गीत धरानको लागि उपहार हुने बताइन् । संगीतकार जीवन भट्टराईले धरानको पर्यटनमा टेवा पुगोस भन्ने अभिप्रायले यो गीत र भिडियो तयार गरेको बताए ।
म्युजिक भिडियो: