धरान: ईसाई धर्मावलम्बीहरुले डिसेम्बर २५ मा मनाइने ख्रीष्टमसको अवसरमा सार्वजनिक विदा दिन माग गरेका छन् ।

ख्रीष्टमसको अवसरमा धरान ख्रीष्टिय समाजद्वारा बुधबार साँझ आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा विदाको माग गरिएको हो । सरकारले दिदै आएको सार्वजनिक विदा कटौती गरिएकोमा असन्तुष्टी जनाउदै पाष्टर हिमाल राईले स्थानीय सरकारले भएपनि सार्वजनिक विदा दिने निर्णय गर्न आग्रह गरे । कार्यक्रमको प्रमुख अतिथि धरानका मेयर तिलक राई थिए भने बिशेष अतिथिमा उपप्रमुख मञ्जु भण्डारी सुवेदी र धरानका विभिन्न वडाका अध्यक्षहरु पनि अतिथिकोरुपमा रहेका थिए ।

पाष्टर राईका अनुसार धरानमा ७३ वटा मण्डलीहरु रहेका छन् । तर, सरकारले धार्मिक संस्थाकोरुपमा अधिकार नदिएको भन्दै उनले गुनासो पनि व्यक्त गरे । ‘धरानमा भएका २०, ३० हजार इसाईहरुको हितको सुनिश्चितता हुनुपर्छ, विभेदको अन्त्य गर्नुपर्छ,’पाष्टर राईले भने,‘हामी ईसाई हौं, तर यही देशमा जन्मिएका हौं, यही देशका नागरिक हौं ।’

chrismas

धरान ख्रीष्टिय समाजका अध्यक्ष शिवकुमार राईले पनि २५ डिसेम्बरमा स्थानीय विदा दिन मण्डलहरुको तर्फबाट स्थानीय सरकारसँग आग्रह गरे । ‘हामीले आग्रहसहितको पत्र पनि बुझाइसकेका छौं, नेतृत्वबाट साहसपुर्ण निर्णय हुनेछ भन्ने अपेक्षा गरेका छौं,’उनले भने,‘सबै जातजाति, धर्म, सँस्क्ृतिलाई उपमहानगरपालिकाबाट सम्मान हुनेछ ।’

धरानका मेयर तिलक राईले ख्रीष्टिय समाजको माग पत्रबारे वडा कार्यालयमा पनि पठाएर धारणा बुझ्ने काम भएको जानकारी दिए । उनले बिहिबारको कार्यपालिका बैठकमा समाजको मागबारे पनि एजेण्डा राखिएको बताए । ‘सबैलाई हित हुने खालको, क्षेत्रधिाकार भित्र रहने गरि निर्णय गछौं । वडाअध्यक्षहरुले पनि सकरात्मकरुपमा लिनु भएको छ,’मेयर राईले भने,‘सबै कुरालाई चुनावी जोड घटाउकोरुपमा हेर्नुहुन्न भन्ने लाग्छ । कार्यपालिकाले स्वामित्व ग्रहण हुने गरि सामुहिक निर्णय गछौं ।’

chrismas1

उपमेयर भण्डारीले सबै धर्म, सँस्कृतिको संरक्षण, संर्वद्धन गर्ने दायित्व राज्यको भएको बताइन् । ख्रीष्टमस डेको दिन सार्वजनिक विदा दिने बिषय एउटा पालिकाबाट मात्र सम्भव नभएको भन्दै उनले प्रदेश सरकार वा केन्द्रीय सरकारबाट नै सम्बोधन हुनुपर्ने बताइन् । यद्यपी उनले धरानको कार्यपालिकाको एजेण्डाको बिषय भएको भन्दै बैठकले निर्णय गर्ने पनि खुलाइन् । ‘प्रदेश सरकारले प्रदेशभरि वा संघीय सरकारले मुलुकभरि विदा दिइनु उचित हुन्छ । हाम्रो कार्यपालिकामा पनि एजेण्डा बनेको छ, ख्रष्टमसको दिन विदा दिने बिषयमा छलफल हुन्छ,’उनले भनिन् । वडाअध्यक्षहरुकोतर्फबाट वडा नं १५ का अध्यक्ष नरेश इवारमले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तस्बिरहरु: विकास चाम्लिङ राई

chrismas3