धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ । बिहान ८ बजे बैठकको समय तोकिए पनि समयमा शुरु हुन भने सकेको छैन ।

बैठकको एजेण्डाको बिषयमा नेकपा धरानको संसदीय दलको बैठकको कारण कार्यपालिका बैठक बस्न ढिलाई भएको हो । बैठक एजण्डाबारे साझा धारणा बनाउन नेकपा पार्टी कार्यालयमा संसदीय दलको बैठक जारी छ । धरान कार्यपालिकाका नेकपाको बहुमत छ । करिब ९ बजे नेकपाका एक वडाअध्यक्षलाई सम्पर्क गर्दा संसदीय दलको बैठक सकिन लागेको जानकारी दिए ।

बैठकमा महत्वपुर्ण २० वटा एजेण्डाहरु भएकोले संसदीय दलको बैठकमा छलफल गर्नुपरेको नेकपा कार्यपालिका सदस्यहरुको भनाई छ । बैठकको एजेण्डामा बसपार्कको डिपिआर स्वीकृत गर्ने, पर्यटन गाउँ छनौटदेखि सांरगा, डुम्रे, शिखरबासको जग्गा रोक्का फुकुवा सम्बन्धमा पनि रहेकोछ । यस्तै, घरनक्सा पास, खानेपानी आयोजनाको परामर्शदाता बिडिएलाई निरन्तरता दिने, वीपी प्रतिष्ठानको ऐन सम्बन्ध, महेन्द्र क्याम्पसको कक्षा पुनः सञ्चालन गर्ने, पेश्की फछयौटलगायत एजेण्डाहरु रहेको छ । एक कार्यपालिका सदस्यका अनुसार खानेपानी आयोजनाको परामर्शदाता बिडिए आफ्नो समय अवधि सकिएर विदा भइसकेको छ । उक्त कम्पनीलाई पुनः करोडौं रुपैया खर्चिएर निरन्तरता दिने तयारी गरिएको हो । सोही अनुसार बैठकमा प्रस्ताव लगिएको छ । 

karya