धरान: संघीय लिम्बुवान मञ्च नेपालले धरानको खानेपानी आयोजना ल्याउन पैसा खाएर सहयोग पुर्याएको भन्ने आरोप लगाउनेविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

खानेपानी दीर्घकालिन व्यवस्थापन संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा ११ बुँदे सहमतिका हस्ताक्षरकर्ता एकराज कोइरालाले विभिन्न राजनीतिक दलका नेताहरुले पैसा खाएको आरोप लगाएका थिए । कोइरालाले गैरजिम्मेवार अभिव्यक्ति दिएर मञ्चको वदनाम गराएको भन्दै कारबाहीको माग गर्दै लिम्बुवान मञ्चले प्रहरीमा ठाडो उजुरी दिएको हो । मञ्चका जिल्ला अध्यक्ष अमर इजम, जिल्ला सचिव निर्मल राई र नगर अध्यक्ष सञ्जुहाङ साँवा लिम्बुले प्रहरीमा उजुरी दिएका हुन् ।

khanepani 1

मञ्चका जिल्ला अध्यक्ष इजमले सिंगो पार्टी अपमान र वद्नाम गराउने नीयतले कोइरालाले बोलेको कुरा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा प्रसारण गरेकोले प्रहरी कार्यालयमा उजुरी गरेको बताए । उनले मिडियाले पनि अपुष्ट खबरहरु लेखेको भन्दै सञ्चारकर्मीहरुसँग छुट्टै छलफल गर्ने र अदालत जाने पनि बताए । ‘जे पायो त्यही सञ्जालमा लगाउने होइन नि । अपुष्ट बोलेको कुरा पनि समाचारमा लेख्ने होइन,’उनले भने,‘प्रमाणसहित ल्याउनुस्, नाम र प्रमाण सार्वजनिक गर्नुस्, मैले हो भने कारबाही भोग्न तयार छुँ । तर जे मन लाग्यो त्यही बोल्नेलाई कारबाही हुनुपर्छ ।’ 

उनले कोइराला सम्पर्कमा आउन नचाहिरहेको भन्दै भौतिक कारबाहीमा उत्रने पनि चेतावनी दिए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले उजुरी आएपनि हिजो आफु धरान बाहिर भएकोले हेर्न नभ्याएको बताए । उक्त उजुरीबारे आज कार्यवाही अघि बढाउने उनले बताए ।