धरान: दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले धरान खानेपानी आयोजना असफल भइसकेको दाबी गर्दै खानेपानी संस्थानको शाखालाई बोर्डमा समायोजन नगर्न माग गरेको छ ।

संघर्ष समितिले आज संस्थान परिसरमा पत्रकार सम्मेलन गर्दै आयोजनालाई नै संस्थानको जिम्मा दिएर पानी आपूर्ति र वितरण सहज बनाउन नयाँ प्रस्ताव एवं मागसमेत गरेको छ । संघर्ष समितिका संयोजक हर्क साम्पाङले भविष्यमा थप ऋण लिएर नयाँ प्रोजेक्ट सञ्चालन गर्नुभन्दा अहिले नै असफल भएको आयोजनालाई संस्थानको जिम्मा दिनु उचित हुने बताए । ‘आयोजना नै खानेपानी संस्थानलाई जिम्मा दिएर यो धरानले लिएको ऋण नेपाल सरकारले तिर्नुपर्छ,’उनले भने,‘धरान पनि नेपाल बाहिरको भुभाग होइन । संघीय सरकारले ऋण पनि जिम्मा लिनुपर्छ, असफल भएको आयोजना पनि जिम्मा लिनुपर्छ ।’

एडिबिबाट ठुलो ऋण लिएर आयोजना सञ्चालन गर्नु हुदैन भनेर आन्दोलनरत संघर्ष समितिसँग उपमहानगरपलिका र सर्वपक्षीय छलफल भएर २०७१ कार्तिक २२ गते राती ११ बुँदामा सहमति भएको थियो, र आन्दोलन अवतरण भएको थियो । अहिलेको हर्क साम्पाङ नेतृत्वको संघर्ष समितिले उक्त सहमतिका हस्ताक्षरकर्ताहरुलाई आयोजना सफल भएको हो कि असफल भएको हो ? भनेर प्रश्न गरेका छन् । उनले आज पत्रकार सम्मेलनमा सबै हस्ताक्षर कर्ता १९ जनालाई नै आमन्त्रण गरेपनि एकराज कोइरालाबाहेक कोही पनि नआएको बताए । ‘हस्ताक्षरकर्ताहरुलाई प्रश्न गछौं, तपाईहरुको हस्ताक्षर पछि आयोजना आएको थियो । यो सफल भयो कि असफल भयो ? सफल भयो भने कसरी ? असफल भएको हो भने हामीसँग आन्दोलनमा आउनुस्,’उनले भने ।

khanepani-sasthan 2

सहमति भएको ११ बुँदा अनुसार कुनै पनि कार्यान्वयन नभएको सँंघर्ष समितिको दाबी छ । साम्पाङले आफुहरुले ५ बुँदा माग अघि सारेपनि पुरा नगरेको बताए । उनका अनुसार करिब २ हजार घरधुरीले २०७२ सालमा नै पैसा बुझाएकाहरुको घरमा धारा जोडेर पानी विरतण गर्नुपर्ने माग छ । यस्तै, सहमतिमा उल्लेख भएअनुसार १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन भएको नापेर देखाउनुपर्ने, आयोजनमा खर्च भएको कति हो ? के मा खर्च भएको हो भनेर लेखा परीक्षण गरेर सार्वजनिक गर्नुपर्ने माग रहेको पनि उनले बताए । साथै, ट्यारिफ बोर्ड अनुसारको महशुल शुल्क लिनुपर्छ भन्ने माग रहेको पनि उनले बताए । ‘खर्च प्रतिवेदन पनि सार्वजनिक गर्न नमानेपछि भ्रष्टचार भएको प्रष्ट छ । नत्र किन हिसाब सार्वजनिक गर्दैनन् ?’उनले भने ।

आयोजना ल्याउदा दलका मान्छेहरुले पैसा खाए: कोइराला

khanepani 1

आयोजना ल्याउनको लागि ११ बुँदे सहमतिमा हस्ताक्षरकर्तामध्ये एकराज कोइराला पनि एक हुन् । उनले आज संघर्ष समितिको पत्रकार सम्मेलनमा आफुलाई राती घरबाट उठाएर लगेर जर्बजस्ती हस्ताक्षर गराएको दाबी गरे । साथै, कोइरालाले आयोजनको रकममा हिनामिना भएको पनि आरोप लगाए ।

उनले नाम खुलाउन नचाहे पनि तत्कालिन माओवादी, एमाले, कांग्रेसलगायत दलका नेताहरुले पैसा खाएको ठोकुवा गरे । ‘हिनामिना गरेको छ, साथीहरुले पैसा खाएको छ । कोही माओवादीका छन्, कोही एमालेका छन्, कांग्रेसका पनि छन्,’उनले भने,‘नाम चै अहिले भन्दिन । साथीहरु आज आएको भए भन्थे । जसरी पनि आयोजना लागु गर्नुपर्छ भनेर खाएका छन् ।’ उनले अघिल्लो दिन नगरपालिकामा बैठक बसेर सहमति गरेको र भोलीपल्ट बिहानै घण्टाघर मुनि बैठक बसेको भेटेकोले पनि पैसा खाएको दाबी गरे ।