धरान: धरानको नगर गौरवको आयोजनामा छनौट भएको खहरे करिडोरको आज शिलान्यास भएको छ ।
प्रदेशसभा १ का सभामुख प्रदिपकुमार भण्डारीले धरान १६ स्थित खहरेमा तीन वटा वडाको आयोजना संयुक्तरुपमा शिलान्यास गरेका छन् । खहरे करिडोर धरानको वडा नं १६, १९ र ८ मा निर्माण हुदैछ । यसको लागि एउटै प्याकेजमा ठेक्का लागेर सम्झौता भएको थियो । बहुबर्षीय योजनाअन्तर्गत ३ वटा खहरे करिडोरको लागि करिब ६ करोड बजेट विनियोजन भएको थियो । उक्त आयोजनालाई खरिढुंगा सफल निर्माण जेभी, काठमाण्डौंले भ्याटसहित ४ करोड ९५ लाख १७ हजार ३ सय ८१ रुपैयामा ठेक्का पाएको छ ।
करिडोर शिलान्यास समारोहलाई सम्बोधन गर्दै सभामुख भण्डारीले सर्दु, सेउती र बीचबाट बग्ने खहरेले निक्कै सताउने गरेको र रोकथामको लागि जाली, वाल लगाउदा पनि समस्या नहुने भन्दै करिडोर निर्माण महत्वपुर्ण योजना भएको बताए । ‘दीर्घकालिनरुपमा समस्या समाधान गर्ने गरि योजना आएको छ । यो योजना गुणस्तरीयरुपमा र समयभित्रै सम्पन्न गर्न सकोस् भन्ने शुभकामना दिन चाहन्छु,’सभामुख भण्डारीले भने,‘नगरपालिकाको मात्र जिम्मा होइन, योजना सफल बनाउन नगरबासीहरुको पनि जिम्मा हो । कस्तो बन्दैछ, हेर्ने अनुगमन गर्ने काम गर्दा अपनत्व हुन्छ, र चाडै सम्पन्न पनि हुन्छ ।’
बर्षायाममा बाढीले क्षति गर्ने र रोकथाममा जाली लगाउदा स्थानीय, संघ, प्रदेशबाट धेरै बजेट खर्च हुने गरेको सभामुख भण्डारीले बताए । अब भने खहरे करिडोरमा मात्र नभएर सर्दु र सेउतीमा पनि करिडोर योजना निर्माण हुने भएकोले दीर्घकालिनरुपमा नै समस्या हल हुने उनले बताए । ‘सर्दु र सेउती करिडोरमा पनि सबैको सहयोगले सफल भयो भने समस्या सधैको लागि हल हुन्छ, वस्तीको सुरक्षा हुन्छ, र विकास पनि हुन्छ । बर्षेनी तारजाली लगाउनुपर्नेबाट मुक्ति मिल्छ,’उनले भने ।
सभामुख भण्डारीले धरानको विकास, समाजको विकासमा सबै एकजुट हुन पनि आग्रह गरे । सबैले धराने हौं भन्ने भावनाले अघि बढ्नसके विकास हुने उनको भनाई थियो । मेयर तिलक राईले १६ नम्बरमा खहरे करिडोर निर्माणमा नम्बरी जग्गा भएका प्रज्वल भुजेलले पौने २ धुर जग्गा दान गरेको खुलाए । उनले ८ नम्बर वडामा केही घरलाई असर पर्ने देखिएकोले ती घरहरुलाई पनि सम्बोधन गरेर नै योजना अघि बढ्ने बताए । उनले भने,‘समस्याको समाधान गर्नेछौ, र करिडोरलाई पुरा गर्ने विश्वास दिलाउन चाहन्छां ।’
उपमेयर मञ्जु भण्डारी सुवेदीले पनि तारजाली बर्षेनी लगाउनुपर्ने बाध्यताबाट मुक्ति दिलाउनकै लागि करिडोर योजना ल्याएको बताइन् । ‘खहरेले कति तार जाली खायो । नगरको, संसदीय विकास, सिचाई डिभिजनको बजेट धेरै खर्च भयो । अब त्यसरी हुदैन, दीर्घकालिन समाधान हुने गरि र सम्पत्तिकोरुपमा हुने गरि, तार जालीबाट मुक्ति दिलाउनको लागि योजना बनेको हो,’उनले भनिन् ।
वडा नं १६ मा एक साइडमा ९१ मिटरको प्लम क्रंक्रिटको रिटेनिङ वाल बन्नेछ भने १४ फुटबो इनर लकिङ टायल लगाएर बाटो बन्नेछ । साथै, साइडमा रेलिङ पनि हुनेछ । यस्तै, वडा नं १९ मा २१.५० मिटर रिटेनिङ वाल र ४१० मिटर रेलिङ लगाउने योजना हो भने वडा नं ८ मा खहरेको दुवै किनारमा ४ सय मिटर प्लम क्रंक्रिटको रिटेनिङ वाल र १४ फुटको ट्रयाक खोलिनेछ ।