धरान: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनको असर प्रदेश सरकारहरुमा पनि देखा पर्न थालेको छ ।

आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै पार्टीको किचलो प्रदेशमा पनि पुगेको हो । नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । बागमती प्रदेशमा माधवकुमार नेपाल पक्षका अष्टलक्ष्मी शााक्यलाई मुख्यमन्त्री अघि सारिएको छ ।

संघीय संसद विघटनसँगै नेकपा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकल दाहाल प्रचण्ड माधवकुमार नेपाल समुहमा विभाजित भएको छ । पार्टी दुई समुहमा विभाजन भएपछि केन्द्रको किचलो प्रदेश सरकारमा पनि परेको हो । बागमती प्रदेश सरकारबाट आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामासमेत दिइसकेका छन् ।

बागमती प्रदेशसभामा १ सय १० जना सदस्यमध्ये ८० जना सांसद नेकपाका छन् । ती मध्ये पनि ओली पक्षमा ३४ जना मात्रै छन् । सात प्रदेशमध्ये ६ वटा प्रदेशमा नेकपाको सरकार छ । ती मध्ये ४ वटा प्रदेशमा ओली पक्षका मुख्यमन्त्री छन् । पार्टी दुई समुहमा विभाजन भएपछि प्रदेशसभामा ओली समुह अल्पमतमा छ ।