धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरानको ठुला योजनाहरु पाइपलाइनमा रहेको बताएका छन् ।
खहरे करिडोरको शिलान्यास कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै मेयर राईले ती योजनाहरुलाई प्रदेश सरकार र संघीय सरकारको सहयोग, मार्गनिर्देशनमा चरणबद्धरुपमा कार्यान्वयन गर्ने पनि बताए । ‘थुप्रै योजनाहरु निर्माणको चरणमा छ, डिपिआरको चरणमा छ । डिपिआर भइसकेपछि, स्रोत सुनिश्चितता भइसकेछि कार्यान्वयन गराउछौं,’मेयर राईले भने,‘अब निरन्तर धरानको ठुला योजनाहरु पाइपलाइनमा छ । प्रदेश सरकार, संघीय सरकारको सहयोग र मार्गनिर्देशनमा धरानको सबै ठुला योजनाहरु चरणवद्धछ योजनामा अघि बढ्ने जानकारी गराउन चाहन्छौं ।’
मेयर राईले विगतमा ठुला योजनाहरुमा असझदारीको कारण विवाद हुने गरेको धारणा राखे । खानेपानी आयोजनामा केही राजनीतिक दलबाट भइरहेको विरोधलाई स्वभाविकरुपमा लिएको भन्दै उनले आफु पनि कांग्रेस पार्टीको सभापतिकोरुपमा विगतमा विरोध गरेको स्मरण गरे । तर, अहिले सबैरुपमा आयोजनालाई बुझेपछि कार्यान्वयन चरणमा अघि लगेको पनि बताए । ‘म पनि नेपाली कांग्रेसको पार्टी सभापति, त्यसरुपमा हुदा मैले पनि त्योरुपमा अघि बढाए । त्यसलाई सबैरुपमा बुझीसकेपछि कार्यान्वयन चरणमा अघि लैजादैछौं,’मेयर राईले भने ।
उनले बसपार्कको विवादलाई पनि समाधान गर्दै डिपिआर स्वीकृत गरेको बताए । साथै, बजेटको सुनिश्चितता पनि भइसकेकोले निर्माणको चरणमा अघि बढाउने पनि मेयर राईले बताए । धरानमा ठुला योजनाहरुमा थोरै अविश्वास, थोरै बुझाईको कमजोरी र थोरै नगरपालिकाप्रतिको हेर्ने दृष्टिकोणको कारण समस्या भएको मेयर राईले बताए । ‘लामो समय कर्मचारीहरुले नेतृत्व गरेर चलाएको बेला केही बुझाईमा कमीकमजोरी भएको थियो, त्यही दृष्टिकोणले अहिले स्थानीय सरकारलाई हेर्ने चलन छ, त्यो दृष्टिकोण परिवर्तन गर्न खोजीरहेका छौं, त्यो परिवर्तन गर्न सक्यौं भने धरानका सबैखाले योजनाहरु समयमै शुरु भएर समयमा नै सम्पन्न हुन्छ भन्ने विश्वास हामीमा आएको छ,’मेयर राईले भने ।
'उपभोक्ता समितिमा समस्या भयो, ठेक्कालाई प्रश्रय दिन्छौं'
मेयर राईले धरानबाट शुरु भएको जनसहभागिता र उपभोक्ता समितिमार्फत विकासको काम गर्ने अवधारणा विगतमा देशकै नमुना भएपनि अहिले समस्या भइरहेको बताए । उपभोक्ता समितिहरु विगतमाजस्तो विश्वासनीय काम नगर्ने र ठेकेदारसँग मिलेमतो गर्ने भएकोले गुणस्तरमा पनि समस्या आइरहेको मेयर राईले बताए ।
मेयर राईका अनुसार नगरपालिका र उपभोक्ताहरुबाट सतप्रतिशत पैसा उठाउने तर काम भने भनेजस्तो नगर्ने गरेको गुनासो उपमहानगरपालिकामा आइरहेको छ । साथै, उपभोक्ता समिति र ठेकेदारबीच झगडा भएर उपमहानगरमा आएपछि छलफल पनि गराउनु परेको उनले बताए । ‘उपभोक्तालाई दिएको योजनामा सतप्रतिशत बजेट खर्च हुन्छ, काम पनि राम्रो भइरहेको हुदैन । तर, त्यही योजना ठेक्कामा लगायौं भने २०, ३० प्रतिशत विलोमा काम हुन्छ, ठेकेदारलाई कानमा समातेर काम लगाउन सक्छौ, उसँग बिशेषज्ञता हुन्छ, स्रोत साधन हुन्छ,’मेयर राईले भने,‘त्यसैले गर्दा हामीले ठेक्कालाई प्रश्रय दिन खोजीरहेका छौं ।’
उनले उपभोक्ता नगरबासीलाई अविश्वास गरेको नभै उपभोक्ता समितिको नाममा भइरहेको गलत कार्यलाई रोकेर गुणस्तरीय र प्राविधिकरुपमा योजनहरु सम्पन्न गर्न ठेक्कालाई प्रश्रय दिन चाहेको बताए । ‘ठुला ठेक्कामा प्राविधिक ज्ञान हुदैन, पर्याप्त समय हुदैन । हामीले कोही प्रतिनिधिलाई ठेकेदारकोरुपमा उभ्याउछौं, र काम गछौं । कही कही ठेकेदार र उपभोक्ताबीच झगडा भएर उपमहानगरपालिकामा आइरहेको छ, छलफल हामीले गर्नुपर्छ, वैधानिकरुपमा त छलफल नै गर्न मिल्दैन,’मेयर राईले भने,‘उपभोक्तालाई काम दिएका हुन्छौं, उपभोक्ता अघि बढीरहेको हुन्छ, तर ठकेदार र उपभोक्तामा पैसामा कुरा नमिलेर झगडा भएको हुन्छ । अब ठेक्कामा गयौं भने गुणस्तर कायम र प्राविधिकरुपमा सम्पन्न हुनसक्छ ।’
भिडियो: