धरान: नेवार जातिको बिशेष पर्व योमरी पुन्हीको अवसरमा धरानमा आज र भोली घर घरमा यःमरी उत्सव मनाइने भएको छ ।

धरान ३ स्थित गल्ली टोल, शंखधर मार्गमा यःमरी उत्सव मनाइन लागेको हो । आज दिउँसो करिब ३ बजेदेखि शुरु हुने उत्सव भोली साँझसम्म हुनेछ । कोभिड १९ को कारण औपचारिक कार्यक्रमबिना शुरु हुने घरघरमा यःमरी उत्सवको बिशेष आकर्षण यःमरी, समयबजीलगायतका नेवारी परिकारहरु हुने आयोजकले जनाएको छ ।

स्थानीय युवा एवं नेवाः देय दबुका सचिव अमृत श्रेष्ठका अनुसार ठुलो उत्सवकोरुपमा मनाउन नपाए पनि यःमरी उत्सवलाई निरन्तरता दिनको लागि आयोजना गरिएको हो । शंखधर मार्ग, गल्ली टोल धरानको ऐतिहासिक ठाउँ भएपनि ओझेलमा परेकोले उजागर गर्नको लागि यसपटक यःमरी उक्त ठाउँमा गर्न लागेको उनले बताए । ‘उत्सवलाई रौनक थप्नको लागि स्थानीय युवाहरुको सांगीतिक कार्यक्रम पनि दुई दिन नै हुन्छ, कला, सँस्कृति प्रर्दशन हुन्छ,’उनले भने । धिमे बाजा, लाखे ना, ठाकठुके पनि प्रर्दशन हुनेछ। गल्ली टोल, शंखधर मार्ग धरानको चीनीया चोकस्थित पालिका तरकारी बजारदेखि उत्तरतर्फ हो । 

yamari1

समाजसेवी राजिव हलवाईले नेवारहरुको बाक्लो बस्ती भएको र ऐतिहासिक ठाउँ भएकोले गल्ली टोल, शंखधर मार्गमा यसपाली यःमरी आयोजना गरिएको बताए । विगतमा जस्तो ठुला स्टलहरु नहुने र भिडभाड नहोस् भन्ने उद्देश्यले होम प्याक लैजाने सिस्टम गरिएको उनले बताए । ‘सडकमा नै खाने हो । यहाँ बसेर खानु भन्दापनि होम प्याक गर्ने सिस्टम हुन्छ, भिड कम्ती होस् भनेर । यहाँ आउने र यहाँबाट लैजाने,’हलवाईले भने,‘बिशेष यःमरी, समयबजी परिकार हुन्छ । घरघरमा नै स्टल जस्तो हुने भएकोले घरघरमा यःमरी भनिएको हो ।’

yamari3

नेवाः देय दबुका केन्द्रीय सदस्य अनिल मास्केका अनुसार पाकेके अन्नवाली पितृहरुलाई चढाएर मात्र भित्र्याउने र खाने चलन अनुसार नेवार जातिले बिशेष परिकार यःमरी बनाएर खाने गरेका हुन् । चामलको पिठो बनाएर त्यसभित्र तिल र सख्खर हालेर यःमरी खाने चलन भएको उनले बताए । ‘यो ठाउँमा भेला हुन्छौ, र घर घरमा नै यःमरी खाने हो,’उनले गल्ली टोलको महत्व दर्शाउदै भने,‘पुर्वको सँस्कृतिमा धरान अग्रणी रहेको छ । त्यसमा पनि गल्ली टोल धेरै महत्वप छ । धरानको लाखे यहीबाट शुरु भयो, र अन्यत्र गयो । धिमे पनि यहीबाट शुरु हुन्छ । पुर्वको पुरानो सँस्था झिगु समाज यही छ । नेवार बस्ती पनि हो, र प्रर्वद्धन गरौं भनेर यही गर्न लागेको हो ।’

भिडियो: