धरान: याक्थुङ मुन्धुम अध्येता एवं याक्थुङ लिम्बू इतिहासकार स्वर्गीय भरत तुङघङको स्मृति ग्रन्थ प्रकाशन गरिने भएको छ ।

मुन्धुमविद् स्वर्गीय तुङ्घङको ब्यक्तित्व एवं कृत्तित्वलाई जीवन्त राख्नको लागि स्मृति ग्रन्थ प्रकाशन गरिन लागेको हो । ग्रन्थ प्रकाशनको लागि बुधबार एक ग्रन्थ सम्पादन समिति पनि गठन गरिएको छ । स्वर्गीय तुङघङको श्रीमती शशी चेम्जोङ तुङघङको अध्यक्षतामा बसेको बैठकले तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु मावुहाङको संयोजक रहने गरि मुन्धुम विद स्व. भरत तुङघङ स्मृति ग्रन्थ सम्पादन समिति गठन गरिएको हो । समितको सदस्यहरुमा भैरब आङ्ला, मोहन तिगेला, हितराम तिल्लिङ र सन्तोष कुरुम्बाङ सदस्य रहेका छन् ।

प्रकाशन समितिको संयोजक भने स्वर्गीय तुङघङकी धर्मपत्नी शशी चेम्जोङ तुङघङ रहेकी छिन् । बैठकमा स्वर्गीय तुङघङका काकासमेत रहेका प्रदेश नं. १ का पुर्व प्रदेश प्रमुख डा. गोविन्द सुव्वाको पनि उपस्थिति रहेको थियो । मुन्धुमविद स्व. भरत तुङघङको बारेमा मेयर अर्जुनबाबु माबुहाङ, आइत खजुम, सुवास तेङयुङ लगायतले आआफनो धारणा राखेका थिए । स्मृति ग्रन्थमा स्व. भरत तुङघङले संकलन गरेको लिम्वुहरुको मुन्धुम, इतिहासलाई समेटिने प्रकाशन समितिले जनाएको छ । स्मति ग्रन्थ केही महिनाभित्र नै तयार गर्नेछ । स्वर्गीय तुङघङको सडक दुर्घटनामा निधन भएको थियो ।