धरान: राजश्व छली गरेको आशंकामा छापा मारेको धरान १२ रामनिवासस्थित हार्डवेर व्यापारी बाबु छोरा राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर राखेको छ ।

गत बिहिबार इटहरीस्थित ग्लोबल इम्पेक्स इन्टरनेशनलमा इटहरीस्थित राजश्व अनुसन्धान इकाई कार्यालयले छापा मारेको थियो । सोही क्रममा राजश्वले गोदाम सिल गरेको थियो भने व्यापारी किसन अग्रवाल र उनका छोरालाई नियन्त्रणमा लिएको थियो । इटहरीस्थित कार्यालयले बिहिबार राती भने शुक्रबार ललितपुरस्थित राजश्व अनुसन्धान विभागमा हाजिर हुने सर्तमा जमानीमा छोडेको थियो । अग्रवाल बाबु छोरा शुक्रबार ललितपुस्थित विभाग गएका थिए । सोही दिनदेखि उनीहरु विभागको नियन्त्रणमा रहेको इटहरीस्थित राजश्व अनुसन्धान इकाई कार्यालय प्रमुख दिपक खड्काले जानकारी दिए ।

खड्काका अनुसार हाल व्यापारी बाबु छोरा विभागको नियन्त्रणमा नै रहेका छन् । उनीहरुको वयान लिने काम जारी छ । ‘उहाँहरुलाई विभागले नियन्त्रणमा राखेको छ, र वयान गराइरहेको छ,’खड्काले भने,‘हामीले गोदाम सिल गरेका छौं, कुनै पनि कारोबार हुन पाउदैन ।’ खड्काका अनुसार वयान सकिएपछि धरानस्थित गोदामको सामान गणना हुनेछ भने कागजपत्र छानबिन पनि हुन्छ । ‘मान्छे उता भएकोले गोदाम सिल गरेर राखेका छौं, वयान सकिएपछि गणना हुन्छ, र कागजपत्रको पनि थप छानबिन हुन्छ,’उनले भने ।

काठमाण्डौंमा राजश्व छली गरेको आशंकामा अनुसन्धानको दायरामा रहेका एक व्यापारीको कारोबार धरानका अग्रवालसँग भएको देखिए पछि राजश्वले रामनिवासस्थित पसलमा छापा मारेको हो । त्यसक्रममा कारोबारका कुनै पनि आवश्यक कागजात नभेटिएको राजश्वले जनाएको थियो ।