धरान: पार्क भन्नु बित्तिकै सुन्दर ठाउँको परिकल्पना हुन्छ । जहाँ घुम्ने, रमाउने फुलबारी, बस्ने ठाउँहरु हुन्छन् । फोटो खिच्न पर्यटकहरुको भिडभाड हुन्छ । तर, धरान १७ स्थित सप्तरंगी पार्क पुग्दा भने जो कोही निराश हुन्छन् ।

धरानको पर्यटनको चर्चा हुँदा नछुट्ने ठाउँ हो, सप्तरंगी पार्क । यो पार्क निर्माण शुरु भएको करिब २२ बर्ष बितिसक्दा पनि पुर्णता पाउन सकेको छैन । धरानको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखेर निर्माण शुरु भएको यो पार्क अहिले झाँडीमा परिणत भएको छ । करिब ९ विगाहा क्षेत्रफलमा फैलिएको पार्कमा खर्च भने ३ करोड बढी भइसकेको छ । यो खर्चले केही संरचनाहरु बनाइएको छ, तर उचित स्याहार सम्भारको अभावले ती संरचनाहरु जीर्ण बन्दै गएको छ ।

उपमहानगरपालिकाका अनुसार सन् १९९८ (२०५५ साल) मा बिडिए कन्सल्टेन्टले पार्कको डिजाइन नक्सा बनाएको थियो । डिजाइन अनुसार त्यसबेला ५ करोड लागत अनुमान गरिएको थियो । तत्कालिन नगरपालिकाले विभिन्न स्रोत खोजेर पहिलो चरणमा क्रमशः कम्पाउण्ड वाल, ड्रेन एज निर्माण, टिकट घर बनाउने, मुर्ति बनाउने कामहरु गरेको थियो । पछि, शहरी विकास तथा भवन निर्माण विभागले पनि केही पिकनिक सेडहरु बनाइदिएको योजना महाशाखाले जनाएको छ ।

saptarangi2

करोडौं लगानी भइसके पनि पार्कले पुर्णता भने पाउन सकेन । निर्माण शुरु भएको करिब २२ बर्षसम्म लथालिङ अवस्थामा पुगेको सप्तरंगी पार्कको डिपिआर भने अब बन्न लागेको उपमहानगरले जनाएको छ । ‘२२ वर्ष अगाडी काठमाडौंको कन्सल्टेन्ट बिडिए नेपालले गरेको डिजाइनमा ५ करोडको लागत स्टिमेट तयार गरेको थियो । पार्कमा ३ करोड खर्च भइसकेको छ,’ बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले भने, ‘नगरपालिकाले विभिन्न स्रोत जुटाएर विभिन्न चरणमा स्मारक पार्क, वाल उद्यान, कम्पाउण्ड वाल, पिकनिक स्पोर्टलगायत केही संचरनाहरु चै बनेको छ । तर, विविध कारणले बीचैमा रोकियो । अब कसरी बनाउने ? भनेर पुःन नयाँ डिपिआर निर्माणको प्रक्रियामा रहेको छ ।’

धरान–१७ रेल्वेचोकदेखी करिब एक किलोमिटर दुरीमा सप्तरंगी पार्क रहेको छ । पुर्वमेयर स्वर्गीय ध्यान बहादुर राईको पालामा खोलाको बगर रहेको जग्गालाई संरक्षण गरेर पार्कको रुपमा विकास गर्ने उद्देश्यले काम सुरु गरिएको थियो । डिपिआर विना महत्वकांक्षी योजना अगाडी बढाउँदा निर्माण कार्यमा अन्योल सिर्जना भएको वडा कार्यालयको भनाई छ । ‘पर्यटनका हिसावले के–के बनाउने ? भनेर डिपिआर नै नबनाई काम थालियो, त्यसले गर्दा के बनाउँने, के नबनाउँने भन्ने बिचमा अन्योल सिर्जना भयो,’वडा नं १७ का अध्यक्ष मनोज भट्राईले भने,‘अब डिपिआर तयार हुँदैछ । विगतमा जस्तो अन्योलता हुदैन ।’

saptarangi3

निर्माणाधिन पार्कको वरीपरी घेराबारा लगाइए पनि संरक्षणको अभावमा पार्कस्थल झाडी, जंगल बनेको छ । पार्क परिसरमा निर्माण गरिएका संरचना लथालिङ अवस्थामा छ । महत्वपुर्ण योजनामा रहेको पार्क निर्माणमा सम्बन्धित पक्षले गम्भीरता नदेखाएको प्रा.डा. राजेन्द्र शर्माको भनाई छ । ‘२७ वर्ष अघि ध्यान जी मेयर हुँदा संरक्षण विहीन अवस्थामा रहेको ऐलानी जग्गा नगरपालिकाको अधिनमा ल्याइएको हो । तत्कालिन १० नम्बर वडाध्यक्ष योगेन्द्र लिम्बुले केही मुर्ती बनाउने र केही रुख विरुवा रोप्ने काम भएको थियो । केही संरचना बन्ने क्रममा रोकिएर लथालिङ अवस्थामा छ,’ शर्माले भने ‘अब फेरी थुप्रै कुराहरु समेटेर डिपिआर बनाउन लागेको भन्ने सुन्नमा आएको छ । पीपीपी मोडलमा लगेर निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ त्यो पूरा भयो भने पक्कै पनि एउटा हेर्न लायकको पार्क बन्छ ।’

saptarangi5

डिपिआर बनेपछि लामो समयदेखी थातिरहेको पार्कको निर्माण कार्यले अब भने गति पाउने धरान उपमहानगरले जनाएको छ । पार्कको डिपिआर बन्ने अन्तिम चरणमा पुगेको र कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा समेत छलफल जारी रहेको उपमहानगरको भनाई छ । ‘उपमहानगरले १५–२० वटा डिपिआर तयार गदैछ, त्यसमा सप्तरङगी पार्कको दिर्घकालिन योजनासहितको डिपिआर तयारको लागि टेन्डर आब्हन गरेका छौं । कन्सलटेन्टले डिपिआर तयार गरेपछि निजी क्षेत्रको लागि खोल्छौं,’नगर प्रमुख तिलक राईले भने,‘जो इच्छुक निजी क्षेत्र छ, उसले सम्भाव्यता, विश्वासनीयता हेरेर सम्झौता गरेर लिज प्रक्रियाबाट अगाडी बढाउँछौं ।’

भिडियो:

saptarangi4 saptarangi6 saptarangi8 saptarangi7 saptarangi10 saptarangi11