धरान: विद्यालयस्तरबाट नै फुटबल खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यले सुनाखरी एकेडेमी कप आयोजना हुने भएको छ ।
धरान १२ स्थित सुनाखरी एकेडेमीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दे आगामी मंसिर ७ देखि १७ गतेसम्म जिल्लास्तारीय अन्तर विद्यालय पुरुष फुटबल प्रतियोगिता सुनाखरी एकेडेमी कप आयोजना गर्ने जानकारी दिएको हो । कक्षा १० सम्मका विद्यार्थीहरुलाई खेलकुदमा प्रोत्साहन गर्न र देशको शान बढाउने युवा खेलाडीहरु तयार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको सुनाखरीका प्रिन्सिपल मिलन कुमार राईले बताए ।
प्रतियोगितामा सुनसरी जिल्लाका १६ वटा विद्यालयलाई मात्र सहभागी गराउने पनि आयोजकले जनाएको छ । जो पहिला १६ टिमभित्र सहभागिताको लागि दर्ता हुन आउछन्, उनीहरु मात्र सहभागी हुन पाउने नियम बनाइएको पनि प्रिन्सिपल राईले बताए । प्रतियोगितामा निजी एवं संस्थागत र सरकारी एवं सामुदायिक विद्यालयका पनि विद्यालय सहभागी हुन पाउने आयोजकको भनाई छ । प्रतियोगितामा भाग लिन इच्छुक विद्यालयले मंसिर ३ गतेसम्म दर्ता गरिसक्नुपर्नेछ ।

प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी पाउनेछ भने उपविजेताले नगद २५ हजार हात पार्नेछ । यस्तै, सेमीफाइनल पुगेका २ टिमलाई पनि ५ हजारको दरले नगद पुरस्कार दिइने सुनाखरी एकेडेमीले जानकारी दिएको छ । यसैगरि, बेष्ट प्लेयरले नगद ५ हजार पाउनेछन् भने बेष्ट गोलकिपर, हाई स्कोर, बेष्ट डिफेन्स र बेष्ट फरवर्डले जनही नगद २५ सय पाउनेछन् । साथै, बेष्ट डिसिप्लिन टिमले नगद ५ हजार पाउदा प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १ हजार पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा कुल ६ लाख १० हजार आय र व्याय हुने अनुमान गरिएको पनि आयोजकले जनाएको छ । प्रतियोगिताको संयोजनमा प्याब्सन र एन प्याब्सन रहेका छन् ।
‘विश्वकपमा पुग्ने सपना छ’

एन्फा केन्द्रीय मानार्थ उपाध्यक्ष एवं प्रदेश फुटबल संघका अध्यक्ष किसोर राईले विद्यालयस्तरको प्रतियोगिता नै फुटबल खेलको विकास गर्ने आधारभुत तह भएको बताए । उनले यस्ता प्रतियोगिताले खेलाडीहरुको प्रतिभा परिष्कृत र उजागर हुने पनि बताए ।
नेपाली फुटबलले पनि विश्वकप खेल्ने सपना बोकेको भन्दै उनले तयारी भने टोल कपको भएको टिप्पणी पनि गरे । ‘वल्र्डकपको लक्ष्य लिएर सपना देखेका छौं, तयारी टोलकपको छ,’उनले भने,‘वल्र्डकप पुग्ने सपना हो भने तयारी पनि वल्र्डकपकै हुनुपर्छ ।’
प्रतियोगितामा सहभागी हुने टिमले लाइसेन्सवाला कोच राख्न आग्रह गर्दे राईले अहिले उत्कृष्ट कोचहरु भएको पनि खुलाए । राम्रो कोच राख्दा टिम पनि राम्रो हुने र प्रतियोगिता राम्रो हुँदा देशकै फुटबल उत्कृष्ट हुने उनको भनाई थियो ।
प्याब्सन धराना अध्यक्ष दिपक घिमिरेले प्रतियोगिताबाट विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाउने अवसर पाउने बताए । यस्ता प्रतियोगिताहरुले घरमा मोवाइलमा समय बताइरहेका बच्चाहरुलाई पनि बाहिरी वातावरणमा घुलमिल गराउने भन्दै उनले शारीरिक र मानसिक स्वास्थ्यलाई लाभ पुग्ने बताए ।
भिडियो:







