धरान: २०३४ सालमा तत्कालिन नेपाल पत्रकार संघ सुनसरीको जिल्ला शाखा गठन भएको थियो । उक्त संघको पहिलो जिल्ला सभापति धरानका अग्रज पत्रकार गिरिराज आचार्य भएका थिए । पत्रकार संघ नै पछि नेपाल पत्रकार महासंघ बनेको हो ।

आचार्यकै पहलमा श्रमजीवी पत्रकारहरुको पहिलो संगठन प्रेस युनियनको जिल्ला शाखा पनि गठन भएको थियो । उनले २०२८ सालदेखि नै राजनीति र पत्रकारिता शुरु गरेका थिए । पत्रकार आचार्य आफैले दर्ता गरेर सम्पादन, प्रकाशनमा रहेको पूर्व टाइम्स साप्ताहिक अहिले २०४० सालदेखि हालसम्म निरन्तर प्रकाशन भइरहेकै छ । धरान र पुर्वमा पत्रकारिताको जग वसाल्न उनको ठुलो योगदान छ । पञ्चायतकालमा राजनीतिमा पनि सक्रिय रहेका आचार्यलाई लेखहरु लेखेवापत पञ्चायती सरकारले पटक पटक पक्राउसमेत गरेको थियो भने भारत निवार्सित पनि हुनुपरेको थियो । राजनीति, साहित्य र पत्रकारितामा उल्लेख्य योगदान पुर्याएका ७० बर्षीय अग्रज पत्रकार आचार्य बुधबार निक्कै हर्षित बने ।

giriraj1

उनी खुशी हुनुको कारण हो, नेपाली कांग्रेस धरान र प्रेस युनियन धरानले उनको नाममा पत्रकारिता पुरस्कार कोष स्थापनाको घोषणा गर्नु । गीता मन्दिरमा औपचारिक कार्यक्रम आयोजना गरेर उनकै उपस्थितिमा गिरिराज आचार्यको नाममा सृर्जनशील पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको घोषणा भएको थियो । पत्रकारितामा पनि ज्यूउँदैमा पत्रकारलाई सम्मान गर्ने परम्परा थालनी भएकोमा उनले खुशी व्यक्त गरे । ७० बर्षीय अग्रज पत्रकार आचार्यले क्लिकधरानसँग भने,‘यो समग्र पत्रकारिता, पत्रकारहरुकै सम्मान हो । राजनीतिक दलले पनि चुनावको बेला मात्र पत्रकार खोज्छ, अरु बेला विर्सन्छ । धरानको मेयरले तलब, भत्ता आफुले नलिएर कोष स्थापना गरेर सृर्जनशील पत्रकारलाई अघि बढाउने महत्वपुर्ण कार्य गर्नुभएको छ ।’

कांग्रेस धरानका सभापतिसमेत रहेका मेयर राईले आफ्नो तलब, भत्तालगायन सेवा सुविधा नलिने घोषणा अनुसार प्राप्त हुने रकमबाट डेढ लाख रुपैयाको पुरस्कार कोष स्थापना गरिदिएका हुन् । बुधबार एक कार्यक्रमबीच प्रमुख अतिथि एवं प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठले डेढ लाख रुपैयाको कोष युनियनका धरान अध्यक्ष मात्रिका प्रसाद नेपाल, कोषाध्यक्ष वसन्त राई र युनियनका जिल्ला अध्यक्ष पवनविवश अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

Giriraj
मेयर राईले आफुले मेयर वापत पाउने तलब, भत्ता लगायत सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने गरि पार्टी मातहतमा एक समिति बनाएका छन् । सोही समितिले निर्णय गरेर उनको तलब वापतको रकम विभिन्न सामाजिक कार्यमा खर्च हुदै आएको छ । धरान पत्रकारिताको अग्रणी एवं उर्बर क्षेत्र रहेको साथै गिरिराज आचार्यले पत्रकारिता एवं राजनीतिक आन्दोलनको क्रममा पुर्याएको योगदानको सम्मान गर्दै पुरस्कार कोष स्थापना गरिएको मेयर राईले बताए ।

युनियनका धरान अध्यक्ष नेपालले पनि आचार्यले पत्रकारिता, राजनीति र साहित्यमा पुर्याएको योगदानको उच्च मुल्यांकन गरी सम्मान गर्ने उद्देश्यले पुरस्कार कोष स्थापना गरिएको बताए । आगामी बर्षदेखि निष्पक्ष मुल्यांकन गरेर प्रत्येक बर्ष एक जना सञ्चारकर्मी पत्रकारलाई १५ हजार रुपैयामा नघटाई पुरस्कार तथा ताम्रपत्र प्रदान गरिने उनले बताए । युनियनले पुरस्कार कोषलाई व्यवस्थितरुपमा सञ्चालन गर्न कार्यविधि पनि बनाउने उनले जानकारी दिए ।