धरान: धरान उपमहानगरपालिका र एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबिच छलफल भएको छ ।

हिजो शुक्रबार धरानका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारीसहित साबिक विष्णुपादुका गाविस (हाल धरान २०), साबिक पांचकन्या हाल वडा नं.(४, ५, ६) र धरान १३, १४ का स्थानीय खानेपानी उपभोक्ता समितिका प्रतिनिधीहरुबीच आयोजनाबारे छलफल भएको हो । ती वडाहरुमा हाल उपभोक्ता समिति मार्फत खानेपानीको व्यवस्थापन भईरहेको छ । एडिबिको ऋण तथा अनुदान सहयोग धरानमा सञ्चालित आइयुडिपी आयोजनाले पनि ती वडाहरुमा खानेपानी व्यवस्थापन गर्न सकेको छैन ।

खानेपानी मन्त्रालयले ती वडाहरुलाई पनि खानेपानी पुर्याउने गरि आयोजनाको लागि धरान छनौट गरेपछि मन्त्रालय, विभागको प्राविधिक टोली सम्भाव्यता अध्ययनको लागि धरान आएको छ । सोही टोलीले शुक्रबार जनप्रतिनिधि तथा खानेपानी उपभोक्ता समितिहरुसँग छलफल गरेको हो । आयोजनाका प्रमुख चक्रपाणी शर्माले ठूला शहरहरुमा व्यवस्थित ढलसहितको एकीकृत खानेपानी आयोजना नेपाल सरकारको प्राथमिकतामा रहेको जानकारी गराए । उनले आयोजनाको तर्फबाट सकारात्मक निर्णय हुने र परामर्शदाता नियुक्ती गरेर डिपिआरको लागि अध्ययन सुरु गर्न सकिने बताए । आयोजनाको ढाँचामा हालसम्म औपचारिक निर्णयसहित उपमहानगरपालिकाकोे चिठ्ठी प्राप्त नभएकोले ढाँचामा औपचारिक पत्र पठाउन नगर प्रमुखलाई आयोजना प्रमुख शर्माले आग्रह पनि गरेका छन् ।

उपमहानगरका प्रमुख राईले धरानमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन गर्न आवश्यक रहेको बताए । उनले औपचारिकरुपमा छलफल गरी यसको लगानी, व्यवस्थापन प्रकृयाको बारेमा औपचारिक जानकारी लिएर धरानका सबै सरोकारवालासँग छलफल गरेर मात्र अध्ययन गरिने नगर प्रमुख राईले बताए । प्रमुख राईका अनुसार यस विषयमा आवश्यक जानकारी लिई सरोकारवाला उपभोक्ता, राजनीतिक दलसंग परामर्श गरी रित पूर्वक रुपमा पत्रचार गरेपछि मात्र औपचारिक रुपमा छलफल हुनेछ । उपप्रमुख भण्डारीले छलफलको क्रममा धरानमा ७८ वटा खानेपानी उपभोक्ता समिति रहेको बताइन् । नीतिगतरुपमा धरानमा एकीकृत आयोजना आवश्यक रहेको उनले बताइन् ।