विराटनगरः बुधवार प्रदेश एकमा सामाजिक विकास मन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा दुई चिकित्सकहरुलाई पहिलो पटक कोरोनाविरुद्धको खोप लगाइयो ।

खोप लगाउनेमा कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दास र वरिष्ठ फिजिसियन डाक्टर दीपक सिग्देल थिए । दासले पहिलो र सिग्देलले दोस्रोमा खोप लगाए । खोप लगाएलगत्तै शुरु भएको औपचारिक कार्यक्रमको पहिलो वक्ता नै सिग्देललाई बनाइयो । डाक्टर सिग्देलले खोप लगाएको करिब १० मिनेटमा बोल्न दिइएको थियो । जबकी खोपपछिका ४५ मिनेट रिजर्भ टाइम राखिएको छ ।

उक्त समय खोप लगाउने व्यक्तिलाई कुनै रिएक्शन हुन सक्ने भन्दै चिकित्सकले ३० देखि ४५ मिनेटको समय अव्जरर्भसन टाइम भनेका हुन् । तर, डाक्टर सिग्देलले १० मिनेटपछि नै आफ्ना कुरा राखे । उनले आफुलाई केहि पनि नभएको प्रतिक्रिया दिँदै भने ‘यो सामान्य टीटी खोप लगाए जस्तै हो । डराउनु पर्दैन ।’

खोप लगाउनुअघिसम्म के होला भन्ने संसय भइरहेको बेला सिग्देलका कुरा सुनिरहेका अतिथि, चिकित्सक र सँचारकर्मी उत्साहित देखिए । छोटो अनुभव बाँड्दै गरेका सिग्देल यतिमै रोकिन चाहेनन् । उनले थपे­ ‘धेरै मान्छेलाई के के न होला भन्ने हल्ला पनि छ । यो हल्लाको पछि नलागौँ । मानिसको अस्तित्व नै सँकटमा पर्न लागेका बेला विज्ञानले आविष्कार गरेको नवीनतम् चिजलाई सहर्ज स्वीकारौँ ।’ उनले सबैमा रहेको डर मेट्न नै आँफु भ्यास्किन लगाउन अग्रसर भएको बताए ।

त्यस्तै डाक्टर चुमनलाल दासले खोप लगाउन पाउँदा आफु भाग्यमानी भएको प्रतिक्रिया दिए । ‘अन्तराष्ट्रिय रुपमा आविष्कार भएको खोप ४५ दिन भित्रै आफुले लगाउनु पाउँदा हर्षित भएको छु ।’ उनले भने ‘राज्यले नागरिकलाई पनि दोस्रो चरणमा खोप उपलब्ध गराउने योजना बनाएको छ । त्यसैले ढुक्क भएर तपाइहरु पनि यो खोप अभियानमा सहभागी हुनुहोला । यसले कुनै पनि असर गर्दैन ।’

विराटनगरसहित मोरङका रंगेली, मंगलवारे अस्पताल, विराट मेडिकल कलेज र नोवेल मेडिकल कलेजमा चिकित्सक र सफाइ मजदुर गरि पहिलो चरणमा १२ हजार १ सय २३ जनालाई खोप लगाउने योजना रहेको छ । प्रदेशका १४ जिल्लामा तीन चरणमा ३५ हजार ५ जनाले खोप पाउँदैछन् ।