धरान: कोरोना संक्रमण पुष्टि भएका सुनसरीका ७ जना सञ्चारकर्मीहरुले कोरोना विमा वापतको जनही एक लाख प्राप्त गरेका छन् ।

नेपाल प्रेस युनियन सुनसरीले बिहिबार इटहरीस्थित कार्यालयमा एक कार्यक्रम आयोजना गरि विमा वापतको रकम हस्तान्तरण गरेको छ । युनियनको पहलमा सुनसरीका २६० जना सञ्चारकर्मीहरुको कोरोना विमा भएको थियो । कोरोना संक्रमण पुष्टि भएका २२ जना सञ्चारकर्मीहरुलाई हालसम्म विमा वापतको जनही नगद १ लाख विरतण भइसकेको युनियनका अध्यक्ष पवन विवश अधिकारीले जानकारी दिए ।

बिहिबार नगद १ लाख पाउने सञ्चारर्कीहरुमा सरिता कोइराला, विवेक विवश रेग्मी, सञ्जय राई, देवेन्द्र कार्की, रामबहादुर कटवाल, रोहित राई र हिमाल दाहाल रहेका छन् । उनीहरुलाई युनियनका प्रदेश १ संयोजक लिलाभल्लव घिमिरे, युनियनको सुनसरी पुर्वअध्यक्ष गणेश निरौला र युनियनका वर्तमान अध्यक्ष अधिकारीले चेक हस्तान्तरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका युनियका प्रदेश १ संयोजक घिमिरेले विमा वापत पाएको रकमलाई सही ठाउँमा सदुपयोग गर्न आग्रह गरेका थिए । उनले सुनसरी सृर्जनशील पत्रकारहरुको जिल्ला भएको धारणा व्यक्त गर्दै पेशागत संघसंगठनहरुले पनि पत्रकारहरुको हक,हितमा काम गर्नुपर्ने बताए । ‘हामी पत्रकार हौं, हाम्रो काम लेख्ने हो । संघ संगठनले पनि पत्रकारहरुको हितमा काम गर्नुपर्छ, सबैको साझा संस्थाकोरुपमा स्थापित हुनुपर्छ,’उनले भने ।

press

नेपाल पत्रकार महासंघ सुनसरीका सचिव हिमाल दाहालले युनियनले पत्रकारहरुको कोरोना विमा गरेर साथै संक्रमण भएकाहरुलाई विमा वापतको रकम उपलब्ध गराएर देशकै नमुना काम गरेको भन्दै प्रसंसा गरे । युनियनका पुर्वअध्यक्ष निरौलाले आफ्ना संगठनका आवद्ध सदस्यहरुको लागि मात्र नभै युनियनले विना पुर्वग्राही सबै सञ्चारकर्मीहरुको लागि योजना ल्याएर प्रसंसनीय कार्य गरेको बताए । महासंघका केन्द्रीय पार्षद रोहित राई, सञ्चारकर्मी रोशन दाहालले पनि कोरोनाले पीडित भएका सञ्चारकर्मीहरुलाई युनियनको कोरोना विमाले राहत दिएको धारणा राखेका थिए ।

युनियनका अध्यक्ष अधिकारीले जिल्लाका ३ सय भन्दा बढी सञ्चारकर्मीहरुको निःशुल्क दुर्घटना विमा पनि गरेको जानकारी दिए । साथै उनले भविष्यमा महिला पत्रकारहरुलाई बर्षभरि निःशुल्क सेनिटरी प्याड वितरण गर्ने योजना रहेको बताए । यस्तै, मिडिया हाउसहरुमा निःशुल्क वाई फाई उपलब्ध गराउन पहल भइरहेको पनि उनले बताए ।