धरान: नेकपा दुई समुहमा विभाजन हुँदा कतै नलागेका उपाध्यक्ष वामदेव गौतमले शुरु गरेको पार्टी एकता राष्ट्रिय अभियानमा धरानबाट ३ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

नेता गौतमले हिजो राजधानीमा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए । सोही अभियानको केन्द्रीय सदस्यमा धरानका नेकपा नेता एवं पुर्वमेयर मनोजकुमार मेन्याङ्वो, जीवन सुवेदी र डम्बर गुरुङ मनोनित भएका हुन् । अभियानका संयोजक गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले धरानका तीन जना नेताहरु अभियानको केन्द्रीय सदस्यमा मनोनित भएको जानकारी दिएका हुन् । पुर्वमेयर मेन्याङ्बो नेकपा प्रदेश कमिटी सदस्य हुन् भने सुवेदी धरानको वडा नं ७ का निवार्चित वडाअध्यक्ष हुन् । युवा नेता गुरुङ पुर्व नेकपा एमालेका क्षेत्रीय सदस्य हुन् ।

एकता अभियानको केन्द्री सदस्यमा मनोनित युवा नेता डम्बर गुरुङले राष्ट्रियरुपमा अघि बढेको पार्टी एकता अभियानलाई सुनसरी जिल्लामा पनि प्रभावकारीरुपमा अघि बढाउने प्रतिक्रिया दिए । उनले अहिले पार्टीमा आएको विभाजन सिद्धान्तको हिसाबले नभै दुई नेतृत्वको कार्यशैलीको कारण भएको भन्दै नेपाली जनताले एकीकृत कम्युनिष्ट पार्टीलाई दिएको जनमतको सम्मान गर्नुपर्ने बताए । ‘जिल्लास्तरमा दुई धारमा उत्रिएका कार्यकर्ताहरु कम्युनिष्ट आचरणविपरीत गालीगलौजमा उत्रिएका छन्, हामीबाट एकताको पहलकदमी हुन्छ,’उनले भने,‘यो सिद्धान्तको हिसाबले होइन, दुई नेतृत्वको कार्यशैलीले आएको विभाजन हो । नेपाली जनताको जनमत एकीकृत कम्युनिष्ट पार्टीलाई हो, व्यक्तिलाई होइन । त्यो जनमतलाई सम्मान गर्दै पार्टी एकीकृतरुपमा रहनुपर्छ भन्ने अभियानको मर्म हो ।’