धरान: धरान उपमहानगरका प्रमुख तिलक राईले शहीद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रमुख राईले आज एक शुभकामना सन्देश जारी गर्दै जहानिया राणा शासनविरुद्ध आवाज उठाउदा ज्यान गुमाएका चार शहीदहरुप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् । शहीद दिवसले सबै राष्ट्रप्रेमी नेपाली जनसमुदायमा देशको विकास र समृद्धिमा सधैं एक जुट भएर अघि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना पनि प्रमुख राईले व्यक्त गरेका छन् ।

राणा शासनविरुद्ध लडेका धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलाई राणाहरुले हत्या गरेका थिए । तिनै शहीदहरुको सम्झानामा माघ १६ गते नेपालमा शहीद दिवस मनाउन थालिएको हो । ‘स्वतन्त्रताको पक्षमा निरंकुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान शहीदहरुको योगदान सधै स्मरणीय रहनेछ,’शुभकामना सन्देशमा उल्लेख छ,‘आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञात अज्ञात महान शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा उच्च सम्मान अर्पण गर्दछु ।’

नेपालमा प्राप्त लोकतन्त्र र अग्रगमन शहीदहरुको त्याग तथा बलिदानको परिणाम भएको उल्लेख गर्दै प्रमुख राईले शहीदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आर्थिक विकास र समृद्धिका लागि अगाडि बढ्न सकेमा मात्र शहीदहरुप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने उल्लेख गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन गर्दै देशलाई समृद्ध बनाउन शहीदहरुको सपना तथा योगदान सधै प्रेरणादायी हुने प्रमुख राईले विश्वास व्यक्त गरेका छन् ।