धरान: धरानको भानुचोक पुग्नुभन्दा केही तल नै कोशी राजमार्गको एकापट्टी पुरानो घर छ, जहाँ लेखिएको छ मधुशाला चियालय ।

यो चियालय अरु जस्तो सामान्य चिया पसल मात्र होइन । यहाँ बिहानैदेखि चियाका पारखीहरु मात्र होइन, पत्रपत्रिका निःशुल्क पढ्न चाहनेहरुको भिड लाग्छ । पत्रिका मात्र कहाँ हो र ! पुस्तक पढ्नलाई पनि यहाँ व्यवस्था छ । धरान ७ मा अवस्थित यो मधुशाला चियालयका सञ्चालक हुन् मधुकर शाक्य । उनी आफै चिया बनाउछन्, र ग्राहकहरुलाई बेच्छन् । त्यही चिया बेचेको पैसाले दैनिकरुपमा पत्रपत्रिका, म्यागजिनहरु किनेर राख्छन् । चियालयमा आउने ग्राहकहरु चिया पिउदै पत्रपत्रिकाहरु पढ्छन् ।

चियालयमा नै उनले पुस्तकहरु पनि संकलन गरेर राख्न थालेका छन् । पुस्तकालय बनाउने उनको योजना छ । जिविका चलाउन चिया बेचीरहेका शाक्य पुस्तक र पत्रपत्रिका किनेर राख्न कञ्जुस्याई गर्दैनन् । उनको चियालयको भित्ताभरि साहित्यकारहरुको भनाई, विचारकहरुको भनाई, लेखका महत्वपुर्ण अंशहरुलाई टाँसेका छन् । लाग्छ, उनको चिया पसल सामान्य होइन, ज्ञानको भण्डार हो ।

madhu9

तस्बिर स्रोत: हाम्रो कोशीआवाज

शाक्यले करिब दुई दशकदेखि चिया पसल सञ्चालन गरेका हुन् । उनले २०६८ देखि चिया पसललाई नै पुस्तकालयकोरुपमा पनि विकास गरिरहेका छन् । बषौंदेखि यसरी नै चिया बेचेर पढ्नुपर्छ भन्ने भावना जगाउदै आएका मधुकर शाक्य शनिबार धरानमा सम्मानित भएका छन् । पठन सँस्कृतिलाई बढाउन योगदान दिएको भन्दै उनलाई कालकुट साहित्यिक मञ्च धरानले आफ्नो दोस्रो बार्षिकोत्सव तथा प्रथम अधिवेशनको अवसरमा सम्मान गरेको हो । धरान १३ वडा कार्यालयको हलमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष मणि राई गोठाले, प्रमुख अतिथि एवं साहित्यकार दिनेशराज सुवेदीले शाक्यलाई नगद ५ हजार ५५ रुपैया, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

madhu-chiya

तस्बिर स्रोत: अनलाइनखबर

‘बिसौं बर्षदेखि साहित्यप्रेमी, साहित्य अनुरागी हुनुहुन्छ । चिया पसलमा पुस्तकालय बनाउनुभएको छ । चिया बेचेर नै साहित्य पढ्नुपर्छ, पुस्तक र पत्रपत्रिका पढ्नुपर्छ भन्ने अभियानमा हुनुहुन्छ, त्यसैले उहाँलाई सम्मान गरिएको हो,’आयोजक संस्थाका नवनिवार्चित उपाध्यक्ष इन्दु नेपाल योञ्जनले भने । उनका अनुसार शाक्य गजल र मुक्तकहरु पनि लेख्छन् ।

७ जना स्रष्टाहरुको कविता तथा गजल वाचन

madhuuuu

कालकुट साहित्यिक मञ्चले दोस्रो बार्षिकोत्सव तथा प्रथम अधिवेशनको अवसरमा शनिबार रचना वाचन कार्यक्रम भएको थियो । कार्यक्रममा ७ जना स्रष्टाहरुले कविता तथा गजल वाचन गरेका थिए । हरेक स्रष्टाहरुले आफ्ना ३ वटा रचना वाचन गरेका थिए ।

कार्यक्रममा धनकुटाका कवि केजी सुब्बा, सुनसरीको रामधुनीका गजलकार रोमु अधिकारी, विराटनगरका गजलकार हेमन्त निरौला, धरानकी कवियित्री करुणा राई, धनकुटाका गजलकार कमल चेम्जोङ, बराहक्षेत्रका कवि एकराज थापा र धरानका कवि हिक्मत खड्काले रचना वाचन गरेका थिए ।

नयाँ कार्य समिति चयन

madhalaaa

मञ्चको प्रथम अधिवेशनले श्रेष्ठ परिक्रमाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा इन्दु नेपाल योञ्जन, सचिवमा कुमार प्रधान कल्पित, सहसचिवमा बालकुमारी गुरुंग र कोषाध्यक्ष एकराज थापा रहेका छन् ।

यस्तै, सदस्यहरुमा कमल चेम्जोंग, प्रमिला राई, लोलिसा पोमो, तीर्थराज बिक, प्रफुल्ल भण्डारी र हिक्मत खड्का रहेका छन् । नयाँ कार्यसमितिले निवर्तमान अध्यक्ष मणि राई गोठाले र गोपाल श्रेष्ठ प्रयासलाई सल्लाहकारमा चयन गरेको छ भने मासिकरुपमा हुने रचना वाचनलाई निरन्तरता दिने, सदस्यता बढाउने र साहित्यिक गतिविधिहरु गर्नेलगायत निर्णय गरेको उपाध्यक्ष योञ्जनले जानकारी दिए ।

madhushala2 madhushala1