सुनसरी: इटहरी उपमहानगरपालिकाले इटहरीका १० जना पत्रकारलाई लेखनवृति प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा १० जना पत्रकारलाई लेखनवृति वापतको रकम उपमहानगरले हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले १८ हजारका दरले लेखनवृतिवापतको रकम प्रदान गरे । इटहरीका १० जना पत्रकारले इटहरीको विकास गतिविधिका बारेमा खोज अनुसन्धान गरि फिचर तयार गरेका थिए । लेखनवृति प्राप्त गरेका १० जना पत्रकार तथा अन्य १५ जना गरि २५ जना पत्रकारलाई दुई दिने फिचर लेखन तालिम समेत सम्पन्न गरिएको छ ।
इटहरी उपमहानगरका प्रमुख चौधरीले इटहरीका संचार माध्यमले इटहरीको विकास निर्माण र सम्वृद्धिमा पुरयाएको सहयोगका लागि धन्यवाद दिए । उपप्रमुख गौतमले इटहरीका सवै सञ्चारमाध्यमको हितमा उपमहानगर लागि पर्ने प्रतिवद्धता ब्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले पत्रकार महासंघसँगको सहकार्यलाई निरन्तरता दिइने बताइन् ।
उपमहानगरका प्रेस संयोजक लिलाराज भटटराईले इटहरी उपमहानगरले पत्रकार महासंघलाई भवन निर्माणका लागि जग्गा प्रदान, पत्रकारहरुका लागि फेलोशिप, पुरस्कार, तालिम, सञ्चारमाध्यमहरुलाई रेडियो टेलिभिजन कार्यक्रम उत्पादनका लागि सहयोग गर्दै आएको वताए । पत्रकार महासंघकी उपाध्यक्ष सुभद्रा प्याकुरेलले इटहरी उपमहानगरले मिडिया क्षेत्रमा गर्दै आएको सहयोगका लागि उपमहानगरलाई धन्यवाद ज्ञापन दिइन् । अग्रज पत्रकार शालिग्राम पाण्डेले फिचर लेखन तालिम समेत सञ्चालन गरेर लेखनवृति प्रदान गरिनु सकारात्मक रहेको वताए । लेखनवृति प्राप्त गरेका पत्रकार सन्तोष यादवले उपमहानगरले प्रदान गर्दै आएको लेखनवृतिका कारण पत्रकाहरु उत्साहित रहेको वताए ।