धरान: आदिबासी मातृभाषीहरुको भाषा संरक्षण तथा विकास गर्ने उद्देश्यले यही माघ २९ गते धरानमा बहुभाषिक कविता गोष्ठी आयोजना हुने भएको छ ।

धरान प्रज्ञा प्रतिष्ठानले आज आइतबार धरान ८ सभागृहस्थित प्रतिष्ठानको हलमा पत्रकार सम्मेलन आयोजना गर्दै कविता गोष्ठीबारे जानकारी दिएको हो । विभिन्न मातृभाषी कविहरुको खोजी गरेर उनीहरुलाई मातृभाषामा साहित्य लेखन गर्न प्रोत्सहन गर्ने पनि गोष्ठीको उद्देश्य रहेको प्रतिष्ठानका सदस्य एवं कार्यक्रम संयोजक गोपाल देवानले जानकारी दिए । उनका अनुसार बहुभाषिक कविता गोष्ठी तेस्रो श्रृंखला हो । गोष्ठीमा यसपटक धरानमा रहेका ३० आदिबासी जातिका ४० भन्दा बढी मातृभाषी कविहरुले सहभागिता जनाउने अपेक्षा गरिएको संयोजक देवानले बताए ।

कविता गोष्ठी धरान नगरस्तरीय खुल्ला हुने प्रतिष्ठानको भनाई छ । यस्तै, कुनै पनि जाति तथा भाषिक समुदायका मातृभाषी कविहरुले भाग लिन सक्नेछ । सहभागी मातृभाषी कविहरुले आफ्नो मातृभाषाका साथै नेपाली भाषामा पनि आफ्नो कविताको उल्था गरि प्रस्तुत गर्नु पर्नेछ भने प्राप्त कविताहरुमध्येबाट भाव र शिल्पका आधारमा ३० वटा कविताहरुलाई निर्णायक मण्डलले चयन गरी कविहरुका लागि वाचन वा प्रस्तुतीकरण गर्न दिइने आयोजकको भनाई छ । गोष्ठीमा उत्कृष्ट १० कविहरुलाई जनही ५ हजार र प्रमाणपत्र प्रदान गरिने पनि संयोजक देवानले जानकारी दिए । कविता माघ २७ गतेभित्र प्रतिष्ठानको कार्यालयमा आइपुग्ने पर्ने पनि उनले खुलाए ।