धरान: गएको मध्यराती मोरङको केराबारी गाउँपालिकाका केही युवाहरुले ३ वटा ट्रक नियन्त्रणमा लिएर केराबारी नपुर्याएको भए, ६७ वटा गोरु राती नै बोर्डर क्रस गरेर भारत पुगिसकेको हुन्थ्यो । तर, राती १ देखि पुर्वपश्चिम राजमार्गमा ढुकेर केही युवाहरुले ३ वटा ट्रक केराबारी पुर्याए । रातारात ती गोरुलाई बोर्डर क्रस गर्ने योजना तुहियो ।

युवाहरुले नियन्त्रणमा लिएको गोरु छुटाउन ठुलै दबाब आयो । अन्ततः ती गोरुलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय इटहरी पठाउन बाध्य भयो । बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल भन्छन्,‘पश्चिमबाट झापाको दमकसम्मको लागि ल्याएको हो भन्छ । पेमेन्ट नपाएको कारण रोकेको रहेछ । थाह पाएपछि आवश्यक कारबाहीको लागि ३ वटा ट्रक चालकसहित राजश्व अनुसन्धान कार्यालय पठाइदिएका छौं ।’

प्रहरी निरीक्षक ढकालका अनुसार ३ वटा ट्रकमा ६७ वटा गोरु छन् । केही आवश्यक कागजपत्र भएपनि भेरिफाइ गर्ने निकाय राजश्व अनुसन्धान कार्यालय भएकोले त्यहाँ पठाइएको उनले बताए । ‘डकुमेन्ट पनि छ, तर सम्बन्धित निकायले भेरिफाई गर्छ । के कस्तो विल हो, त्यो राजश्व कार्यालयले बुझ्ने हो । विवाद आइसकेपछि हामीले सम्बन्धित निकायमा पठाउने हो ।’

मोरङ प्रहरी प्रमुख एवं एसपी सन्तोष खड्काले पनि शंका लागेर नियन्त्रणमा लिइएको गोरु राजश्व अनुसन्धान कार्यालयमा पठाइएको बताए । ‘दमकसम्मको विल छ, तर प्रायः तस्करी गर्ने गरिएकोले शंका लागेर नै राजश्व अनुसन्धानमा पठाएको हो,’एसपी खड्काले भने ।

केराबारीका युवाहरुले किन नियन्त्रणमा लियो गोरु ?

goru1

तीन वटा ट्रकमा पश्चिमबाट सिन्धुपाल्चोक घर भएका ठेकेदार विश्व बस्नेतले ल्याएका हुन् । उनले पुर्वको विभिन्न तस्करीको रुट प्रयोग गरेर विगतदेखि नै गोरुहरु भारत पठाउने गरेको जानकारहरु बताउँछन् । केराबारी गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष उपेन्द्र लुंगेली मगरका अनुसार केराबारीका गोरु व्यापारीको १४, १५ लाख जति पैसा सिंहले तिर्न नमानेपछि गएराती गोरुसहितको ट्रक नियन्त्रणमा लिएका थिए । ‘यताको मान्छे पनि गोरु व्यापारी थिएछन् । तर, उनीहरुको १४, १५ लाख जति नदिएर ठगेको ठगेकै गरेपछि ट्रक बाटोमा छेकेर गोरु यता ल्याएछन्,’अध्यक्ष मगरले भने,‘पछि बेलबारी प्रहरीले लिएर गयो ।’

तिनै गोरु व्यापारी युवाहरुले ट्रक नियन्त्रणमा लिएर केराबारी पुर्याएपछि मात्र सेटिङमा गोरु तस्करी हुने गरेको खुलेको हो । सिंहसँग पैसा लिनुपर्ने केराबारीका एक व्यापारी पश्चिमबाट पुर्वसम्म आइपुग्दा सबै सेटिङकै कारण कही कतै चेकजाँच नगरिएको दाबी गर्छन् । ‘यो तस्करीकै गोरु हो, भारततिर लैजान लागेको थियो,’नाम नखुलाउने सर्तमा उनले भने,‘गोरु ट्रकमा राती राती पारि जान्छ ।’

व्यापारीहरुका अनुसार गोरु तस्करी गरेर भारत पुर्याउने ४ वटा रुट छ । मोरङको बेलबारी हुँदै दक्षिणबाट रंगेली क्षेत्र आसपासबाट भारततर्फ तस्करी हुन्छ । यस्तै, अर्को झापाको दमकबट दक्षिण गौरीगञ्ज हुदै तस्करी हुन्छ भने झापाकै सुरुङ्गाबाट दक्षिण झापा बजार हुदै पनि तस्करी हुने गरेको छ । यस्तै, झापाको भद्रपुर मेची पारि ठाकुरगञ्ज बजारको रुटबाट पनि तस्करी हुने गरेको छ ।