धरान: बजार क्षेत्रका व्यापारीहरुले फुटपाथसमेत मिचेर राखेको संरचना हटाउने अभियान धरानमा आज मंगलबार पनि जारी रह्यो ।

धरान उपमहानगरपालिकासहितको अनुगमन टोलीले आज भानुचोकस्थित घण्टाघर पछाडि र देशीलाइनको पसलहरुले फुटपाथ मिचेर बनाएको संरचनाहरु हटाएको हो । टोलीले हिजो सोमबारदेखि धरानको बजार क्षेत्रमा फुटपाथ र ड्रेन मिचेर बनाएका संरचनाहरु हटाउन अभियान थालेको थियो । सोही अभियानलाई निरन्तरता दिदै आज पनि घण्टाघर पछाडि र देशीलाइन क्षेत्रको अनधिकृत संरचनाहरु हटाइएको अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए ।

footpath1

ईलाका प्रशासन कार्यालय, उपमहानगरपालिका, नगर प्रहरी, जनपथ प्रहरीलगायतको संयुक्त टोलीले फुटपाथ मिचेरका संरचनाहरु हटाइरहेको छ । ‘पसलहरुले नै फुटपाथ, ड्रेन मिचेर बाहिरसम्म सामान राख्ने गरेका छन्, त्यसले सडक साँघुरो र भिडभाड भएर दुर्घटनाको जोखिम पनि बढाएकोले हटाउन थालेका हौं,’अधिकृत सापकोटाले भने,‘यो अभियान जारी रहन्छ ।’ टोलीले फुटपाथ, ड्रेन मिचेर बनाएका संरचनाहरु भत्काएर खाली गराइरहेको छ ।