धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान खानेपानी व्यवस्थापन बोर्डबीचमा खानेपानी वितरण तथा व्यवस्थापनबारे छलफल भएको छ ।

विगत २२ बर्षदेखि खानेपानी संस्थानको धरान शाखाले प्रतिष्ठानको खानेपानीको संरचनाको सञ्चालन तथा व्यवस्थापन गर्दै आएको थियो । अब संस्थान नै बोर्डमा मर्ज हुने भएकोले प्रतिष्ठानले बोर्डमार्फत खानेपानी सञ्चालन तथा वितरण गर्नेबारे छलफल भएको हो । मंगलबार उपमहानगर र प्रतिष्ठानका पदाधिकारीहरुबीच भएको छलफलमा खानेपानीको संरचना सञ्चालन, व्यवस्थापन र पानी वितरणको जिम्मा बोर्डलाई दिने सहमति भएको छ ।

छलफलमा सहभागी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार वीपी प्रतिष्ठानले खानेपानी वितरणको जिम्मेवारी बोर्डलाई दिन सैद्धान्तिक सहमति जनाएको हो । ‘वीपी प्रतिष्ठानले अब बोर्डमार्फत नै खानेपानीको संरचना सञ्चालन, वितरण हुनुपर्छ भन्नेमा सैद्धान्तिक सहमति जनाएको छ,’पोखरेलले भने,‘प्राविधिक समितिले बुझाएको रिपोर्ट अनुसार काम गर्ने, संरचनाहरु संस्थानलाई सुधार गर्न लगाउने भनेर प्रतिष्ठानले भनेको छ ।’

खानेपानी संस्थान बोर्डमा मर्ज हुने भएपछि प्रतिष्ठानको खानेपानीको संरचनाहरुको अवस्था अध्ययन गर्न एक प्राविधिक समिति गठन गरिएको थियो । प्रतिष्ठानका नेत्र खड्काको संयोजकत्वमा गठित समितिले रिपोर्ट बुझाई सकेको छ । खडकाका अनुसार प्राविधिक समितिले प्रतिष्ठानको संरचनाको यथार्थ अवस्था बुझाएको छ । ‘संरचनाको अवस्था के छ । कुन चालु छ, कुन छैन । पानी कति दिन्छ, के के काम गर्दा पुर्ण क्षमताको पानी उत्पादन हुनसक्छ भनेर रिपोर्ट छ,’उनले भने ।

प्रतिष्ठानसँगको छलफलमा धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनाल, विपद तथा वातावरण महाशाखा प्रमुख भेषराज घिमिरे र आयोजना बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल थिए । प्रतिष्ठानकातर्फबाट उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर डा.गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीसहित इञ्जिनियरहरु सहभागी थिए ।

प्रतिष्ठानका संरचनाहरुलाई सम्झौता वमोजिम खानेपानी संस्थानले मर्मत नगरेकोले पानी पर्याप्त मात्रामा उत्पादन गर्न सक्ने अवस्था छैन । प्रतिष्ठानको संरचनाहरु जिर्ण बन्दै गएको छ । अल्पकालिनरुपमा इलेक्ट्रो मेकानिकल कामहरु र मर्मतका कामहरु गर्न लगभग ५० लाख जति खर्च लाग्ने अनुमान गरिएको छ । दिर्घकालिन रुपमा दुई वटा ट्यूवेल बनाउनुपर्ने देखिएको छ ।