धरान: खानेपानीको एजेण्डाले प्रभावित भएको धरानको ८ औं नगर सभा उद्घाटन भएपछि फागुन २१ गतेसम्मको लागि स्थगित भएको छ ।

खानेपानीको माग तथा खानेपानी संस्थानलाई मर्ज गर्नुपर्ने भन्दै घेराउ र नाराबाजी भएपछि झण्डै ३ घण्टा ढिला गरि नगर सभा शुरु भएको थियो । प्रमुख अतिथि एवं प्रदेश सभामुख प्रदिप भण्डारीले उद्घाटन गरेर २ जनाको मन्तव्य पछि फागुन २१ गतेसम्मको लागि सभाको बैठक स्थगित गरिएको नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं २० अध्यक्ष मणिराम राईले जानकारी दिए । उनले भने,'सभामुख ज्युबाट उद्घाटन भयो । प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ र प्रमुख अतिथि सभामुख ज्यूबाट सम्बोधन भएपछि २१ गतेसम्मको लागि बैठक स्थगित भयो ।'

gherau

खानेपानीको एजेण्डाले आइतबारको कार्यपालिका बैठकमा पनि अध्यक्षहरुले मेयरसँग चर्को असन्तुष्टी पोखेका थिए । जसले गर्दा बैठक नै बस्न सकेन । बैठकमा खानेपानीको बिषयलाई टुंगो नलगाउदासम्म बैठक चल्न सक्दैन भन्दै अध्यक्षहरुले विरोध गरेका थिए । प्रवक्ता राईका अनुसार फागुन २१ गतेभित्र खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्ने र खानेपानीको समस्या हल गर्ने भनेर बैठक उद्घाटन गरेर स्थगित गरिएको हो ।

खानेपानीको चरम अभाव भएको बेला पनि खानेपानी संस्थानलाई मेयरले मर्ज गर्न आनाकानी गरिरहेको भन्दै वडाका जनप्रतिनिधिहरुसहित नगरबासीहरुले आज नगर सभा शुरु हुनुअघि नै घेराउ र नाराबाजी गरेका थिए । जसले गर्दा दिउँसो १ बजे शुरु हुनुपर्ने नगर सभा दिउँसो करिब ४ बजे मात्र शुरु भएको थियो ।