विराटनगरः नेकपा नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई असुरक्षा भए आफ्ना कार्यकर्ताले सुरक्षा दिने बताएका छन् ।

विराटनगरमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले मुलुकको कार्यकारी भुमीकामा भएको व्यक्तिलाई सुरक्षा चुनौती भए आफु सुरक्षा दिन तयार रहेको बताएका हुन् । नेता नेपालले अब बन्ने सरकारको समिकरण प्रतिगमन विरुद्धका शक्तिसँगमात्र हुने जानकारी दिएका छन् । ओलीले गरेको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले करेक्सन गरेको भन्दै उनी प्रतिगमनको बाटोमा हिँडको हुँदा उनलाई फर्काउन नसकिने र नसच्चिने पनि दाबी गरे । 'उनको भर छैन । सच्चिन्छन् जस्तो लाग्दैन,' नेपालले भने, 'यदि सच्चिएर आउँछन् र प्रश्चताप गर्छन् भने पार्टीका साथीहरुलाई स्वागत गरिनेछ ।'

उनले नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीचको सहमतिमा नयाँ सरकारको सम्भावना रहेको पनि बताए । नेपालले संसद अधिवेशनसँगै राजनीतिक गतिरोध सहजतातर्फ अघि बढ्ने समेत बताए । अर्को एक प्रसंगमा मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसिसिका बारेमा आफुहरु नकरात्मक नभएको प्रष्ट पादै पार्टी अध्यक्ष नेपालले सबैलाई हित हुने गरी आवश्य प्रकृया अगाडी बढ्ने बताए ।