सुनसरी: इटहरी २ मा निर्माण भएको इपी ल्याण्ड एण्ड वाटर पार्कको सोमबार सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री भानुभक्त ढकालले उद्घाटन गरेका थिए । केन्द्रीय मन्त्रीले उद्घाटन गरेर औपचारिक सञ्चालनमा आएको यो पार्क अहिले विवादमा आएको छ ।

उद्घाटन भएको दुई दिनपछि इटहरीकी उपमेयर लक्ष्मी गौतमले निर्माण इजाजत नलिई यो पार्क बनेको बताएकी छिन् । उपमेयर गौतमले सामाजिक सञ्जाल फेसबुकमा जनप्रतिनिधिको हैसियतमा बोल्नु बाध्यता भएको भन्दै पार्क कानुन विपरीत निर्माण भएको बताएकी हुन् । उनले लेखेकी छिन्,‘कानुन ठुला साना सबैलाई बराबर लाग्नुपर्छ । यो पार्क कानुन विपरीत निर्माण भएको छ, सरकारको भवन मापदण्ड विपरीत छ ।’

gautam

जनप्रतिनिधिहरु लगानीमैत्री, व्यवसायी मैत्री हुनुपर्ने धारणा राख्दै उपमेयर गौतमले यो पार्क निर्माण गरिदा इजाजत पत्र, नक्सा पास नभएको बताएकी छिन् । साथै, खोलाको मापदण्ड छोडेर निर्माण गर्नुपर्ने भएपनि खोलालाई व्यवसायिक प्रयोजनको लागि कानुन विपरीत निर्माण गरिएको उनको भनाई छ । ‘मेरो मान्यता चाहे म एक्लै परौं, साना गरिबका झुपडीलाई कानुन लाग्ने, ठुलालाई छुट दिने हुनुहुदैन,’उनले लेखेकी छिन्,‘कानुनको दायरामा आउनुपर्छ, कानुन विपरीत निर्माण गर्न पाइन्न ।’ यो पार्क इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेल, पुर्व एआइजी कृष्ण बस्नेत, पुर्व डिआइजी ज्ञानबिक्रम शाह र काठमाण्डौंको वु पी ल्याण्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको लगानीमा यो पार्क सञ्चालनमा आएको हो ।