धरान: धरानका मेयर तिलक राईले प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीले स्थापना गरेको प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा मेयर राईले आज (बुधबार) २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । मेयर राईको मासिकरुपमा आउने तलब पार्टीको कोषमा जम्मा हुन्छ । त्यो कोषबाट मेयर राईले प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा उक्त रकम सहयोग गरेका हुन् ।

फोनिजको तर्फबाट गठन गरिएको तीन सदस्यीय समितिका संयोजक जनकऋषि राईले मेयर राईले २५ हजार रुपैयाँ सहयोग गरेसँगै याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा १ लाख रुपैयाँ पुगेको बताए । स्वर्गीय पत्रकार प्रधान नेपाल पत्रकार महासंघ सुनसरीको पूर्व अध्यक्ष पनि हुन् । साथै उनी पत्रकार महासंघ केन्द्रिय समितिबाट प्रेस स्वतन्त्रता सेनानीको सम्मान पनि पाएका अग्रज पत्रकार हुन् ।