काठमाडौँ: सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको तत्कालिन एमाले र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी मिलेर निर्वाचन आयोगमा दर्ता भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई बदर गरिदिएको छ ।

सर्वोच्चले नेकपालाई वदर गरेसँगै नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) अलग अलग राजनीतिक दलकोरुपमा साविककै अवस्थामा कायम रहने पनि फैसला गरेको छ । साथै, यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरि निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन आयोगका नाममा परमादेश पनि जारी गरेको छ ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले यस्तो फैसला गरेको हो । नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेलले आफ्नो पार्टीको नामसँग जुधाएर नेपाल कम्युनिस्ट पार्टीको पछाडि त्यसैको छोटकरी नाम (नेकपा) थपिदिएर दल दर्ता गर्ने आयोगको निर्णय गलत भएको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले उनको पक्षमा फैसला गरेको हो ।