काठमाण्डौं: सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न पेरिस डाँडामा बसेको प्रचण्ड माधव समुहको बैठकले साविक एमाले र साविक माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको प्रचण्ड माधव पक्षको स्थायी कमिटी बैठकले एकीकरण भएर नेकपा हुनुअघिकै साविक दुई पार्टीकोरुपमा अलग्गिने निर्णय गरेको हो । बैठकको बारेमा जानकारी दिदै नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाप्रति गम्भीर असहमति, अनुपयुक्त हुँदा हुँदै पनि कार्यान्वयनको प्रक्रियामा जाने बताए । यसबारेमा राजनीतिकरुपमा दृष्टिकोण र विचार राख्दै अघि बढाउने र कानुनी ढंगले पनि उपयुक्त उपचार खोज्ने प्रक्रिया अघि बढाउने बताए । उनले पार्टी एकताको उद्देश्य सही भएको ठहर गर्दै बैठकले पार्टी एकता निरन्तर पहल गर्ने बताए । नेकपाको बैठक यो अन्तिम हुने पनि उनले बताए ।

सर्वोच्चले हिजो आइतबार ऋषि कट्टेलको नेकपालाई अधिकारिता दिदै सत्तारुढ दल नेकपा वदर गरिदिएको थियो । योसँगै अदालतले साविक एमाले र साविक माओवादी केन्द्र कायम रहने पनि फैसला सुनाएको थियो । नेकपामा रहदा माधव नेपाल, झलनाथ खनाललगायत नेताहरु प्रचण्डको साथमा रहदै पार्टी अध्यक्षबाट केपी शर्मा ओलीसहितका नेताहरुलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको घोषणा गरेका थिए । अब नेपाल, खनाललगायत नेताहरुले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्नुपर्ने स्थिति बनेको छ ।