धरान: सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई खारेज गर्दै साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिए पछि दुवै पार्टी अलग अलगरुपमा कार्यालय सञ्चालन गर्ने प्रक्रिया सबैतिर चलेको छ ।

सोही अनुसार सुनसरी जिल्लामा पनि इनरुवास्थित नेकपाको पार्टी कार्यालयबाट माओवादी केन्द्र बाहिरिएको छ । उक्त पार्टी कार्यालय विगतमा नेकपा एमालेको पार्टी कार्यालय थियो । खारेज भएको नेकपाको जिल्ला नेतृत्व बैठक बसेर एमाले र माओवादी केन्द्र अलग अलग हुने फैसला अनुसार अघि बढ्ने निर्णय गरिएको एमाले अध्यक्ष रमेश बस्नेतले जानकारी दिए । उनले भने,'सर्वोच्च अदालतको फैसला अनुसार एमाले र माओवादी केन्द्र अलग अलग रहने निर्णय अनुसार माओवादी केन्द्रलाई पार्टी कार्यालयबाट विदाई गरियो ।'

नेता बस्नेतका अनुसार माओवादी केन्द्रले पार्टी कार्यालय आफै व्यवस्थापन गर्नेछ । नेकपाको पार्टी कार्यालय एमालेकै भएकोले अबदेखि नेकपा एमालेको पार्टी कार्यालय त्यहीबाट सञ्चालन हुने उनले बताए । 'उहाँहरुले आफ्नै पार्टी कार्यालय व्यवस्था गर्नुहुन्छ, हामीले एमालेको बोर्ड पनि राखिसक्यौं,'
बस्नेतले भने ।

खारेजमा परेका नेकपाका अध्यक्ष पप्पु मण्डलले सर्वोच्चको फैसला कार्यान्वयन गर्नेक्रममा माओवादी केन्द्रले पुर्व एमालेको पार्टी कार्यालय छोडेर आफ्नै पार्टी कार्यालय जाने निर्णय गरिएको बताए । सर्वोच्चको फैसला पछि हिजो(सोमबार) प्रचण्ड माधव पक्षको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन्द्र अलग अलग रहने निर्णय गरेको थियो ।

नेपालका दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ ३ गते एकीकरण भएर नेकपा गठन भएको थियो । सुनसरीमा २०७६ जेठ ६ गते जिल्ला कमिटी गठन भएपछि साविक एमालेको पार्टी कार्यालय नै नेकपाको भएको थियो । तर, फागुन २३ गते सर्वोच्चले सत्तारुढ नेकपालाई वदर गर्दै ऋर्षि कट्टेलको नेकपालाई आधिकारिता दिएको थियो भने साविककै नेकपा एमाले र माओवादी केन्द्र कायम रहने फैसला गरेपछि राजनीतिक उथलपुथल भएको हो ।